नेपाल जलस्रोतको धनी भएपनि व्यवस्थापन चुनौतीपूर्ण : खानेपानीमन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले नेपाललाई खानेपानी व्यवस्थापनको सफल नमुना राष्ट्र बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

विश्व खानेपानी दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले खानेपानी व्यवस्थापनमा रणनीतिक योजनामार्फत विज्ञसँग छलफल गरी बजेटमा प्रभावकारी नीति तथा कार्यक्रमको व्यवस्था गरिने बताए ।

उनले नेपाल जलस्रोतमा धनी भएपनि उचित व्यवस्थापनमा कमजोर र चुनौतीपूर्ण रहेको बताए । उनले खानेपानीमा फड्को मार्नेगरी विकास साझेदार र विभिन्न दातृनिकायहरुसँग सहकार्य गर्ने बताए ।

सुरक्षित खानेपानी तथा सरसफाइलाई सुनिश्चित तथा दिगो बनाउने रणनीतिअन्तर्गत निजी क्षेत्र तथा गैरसरकारी संस्थाहरूसँग सहकार्यको तयारी भई रहेको उनको भनाइ छ ।

उनले भने ‘नेपाल जलस्रोतको धनी भएपनि व्यवस्थापन, वितरण तथा सेवा गुणस्तर सुधार गर्न अझ धेरै चुनौती रहेका छन् । सरकारको नीति तथा कार्यक्रमलाई वैज्ञानिक र नवप्रवर्तन युग समाधानहरूसँग एकीकृत गर्दै कार्यान्वयन गरिँदै छ । जलस्रोतको संरक्षण र उचित उपयोग प्रविधि हस्तान्तरण तथा खानेपानी तथा सरसफाइमा समान पहुँच सुनिश्चित गर्न सरकारले प्रभाकारी नीति कार्यक्रमलाई प्राथमिकता दिनेछ । सुरक्षित खानेपानी र सरसफाइलाई दिगो बनाउन निजी क्षेत्र, गैरसरकारी संस्था तथा विकास साझेदारहरूसँग सहकारी गर्दै लैजाने सरकारको रणनीति छ । यो भन्दा अघि पनि हामीले विकास साझेदार र विभिन्न दातृनिकाय जुन खानेपानी क्षेत्रमा काम गरी राख्नुभएको छ । उहाँहरूलाई बोलाएर छलफल पनि गरी सकेका छौँ । निकट भविष्यमा पुनः छलफल गरेर हामी जुन बजेट बनाइरहेका छौँ त्यो बजेटमा रणनीति तह सबैको सहकार्यमा सबैको सल्लाहबमोजिम कसरी खानेपानीमा फड्को मार्ने र नागरिकलाई स्वस्थ तथा शुद्ध खानेपानी कसरी दिने ? भन्नेमा विज्ञ विद्धानसँग विचार विमर्श गरेर बजेट बनाएर अगाडि बढ्छौँ । नेपाललाई पानी व्यवस्थाको सफल नमुना राष्ट्रको बनाउन सरकार प्रतिबद्ध छ ।’

मन्त्री यादवले नेपालमा खानेपानीलाई मानव अधिकारको रूपमा सुनिश्चित गर्न संवैधानिक अधिकारको रूपमा व्यवस्था गरिएको बताए । संविधानमा भएको व्यवस्थालाई व्यावहारिक कार्यान्वयनमा थप सुधारको आवश्यक भएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *