
संसद्मा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौं : सभामुख घिमिरे


सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुङ्ग्याउने काम भइरहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा विचाराधीन रहेका निजामती कर्मचारी, प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयकहरू छिटो टुंगो लगाउने काममा लागिरहेको बताएका हुन् ।
उनले संविधानले प्रदान गरेका अधिकार पूर्ण रुपमा प्रयोग गर्नसक्ने वातावरण अझै बन्न नसकेको गुनासो आइरहेको बताए । सभामुख घिमिरेले संघीय निजामती सेवा ऐनको अभावले प्रशासनिक संघीयता कमजोर बनाएको आम जनगुनासो आएको पनि बताए । संविधानले अधिकार विकेन्द्रीकरण गरे पनि व्यवहारमा विकेन्द्रीकरण बढिरहेको बताए । योजना तर्जुमा र बजेट वितरण संघमा सीमित रहनु संघीयताको मर्मअनुसार नभएको उनको भनाई छ ।
सभामुख घिमिरेले भने, ‘संविधानले प्रदान गरेका अधिकार पूर्ण रुपमा प्रयोग गर्नसक्ने वातावरण अझै बनेको छैन भन्ने गुनासो सुन्दै आएका छौँ । संघीय निजामती सेवा ऐनको अभावले प्रशासनिक संघीयता कमजोर बनाएको आम जनगुनासो हामीले सुनेका छौँ र भोगिरहेका छौँ । संसदमा विचाराधीन निजामतीसँगै प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयक शीघ्र टुङ्ग्याउने प्रयासमा हामी लागिरहेका छौँ । त्यसले केही हदसम्म बाटो खोल्ने कुरामा हामी आशावादी छौँ । यसलाई छिटै पूरा गर्न सबैको सहयोगको अपेक्षा गर्दछु । वित्तीय संघीयताको पक्ष सन्तोषजनक छ ।’
प्रतिक्रिया