
बागमती प्रदेशको २५ प्रतिशत मात्र बजेट खर्च


बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ। प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्दराज सन्यालका अनुसार चालु आव २०८१/८२ को आठ महिनाको अवधिमा कूल बजेटको २५ दशमलव ६२ प्रतिशत बजेट खर्च भएको छ ।
चालु आवका लागि प्रदेश सरकारले रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकोमा आठ महिना सकिँदा रु १० अर्ब ५० करोड २९ लाख नौ हजार बजेट खर्च भएको उनले बताए। बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ । सो अवधिमा चालुतर्फ ३५ दशमलव २२ प्रतिशत र पुँजीगततर्फ १९ दशमलव ९४ प्रतिशत बजेट खर्च भएको छ ।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४७ दशमलव ६९ प्रतिशत, प्रदेश सभा सचिवालयले ३८ दशमलव २२ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले नौ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।
चालु आवको दोस्रो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको छ । योजनाहरू कार्यान्वयनमा जान नसकेकाले खर्च कम देखिएको सूचना अधिकारी सन्यालले बताए।
प्रतिक्रिया