
डेढ दशकदेखि मुस्ताङको ‘सम्जुङ गाउँ’ मानवविहीन


जलवायु संकटले हिमाली जिल्लाको धार्मिक, सांस्कृतिक र विभिन्न क्रियाकलापमा प्रत्यक्ष/परोक्ष प्रभाव पर्दै गएको छ । जलवायु परिवर्तनकै कारण हिमाली जिल्ला मुस्ताङको जनजीवनसमेत निकै प्रभावित भइरहेको छ । असमान मौसम परिवर्तन, प्राकृतिक प्रकोप, अनियमित हिमपात हुने र कुनै वर्ष हिउँ नै पर्न नसक्नेजस्ता प्राकृतिक प्रकोपको समस्या झेल्नुपर्ने अवस्था विद्यमान छ ।
जलवायुकै कारण पछिल्लो समय हिमालहरू कालापत्थरमा रूपान्तरण हुँदै थाले भने हिमनदीको स्रोत पनि सुक्दै जान थालेका छन् । यसरी जलवायु संकटकै कारण हिमाली जिल्ला क्षेत्रको कृषि र पशुपालनलगायत क्षेत्रमा यसको नकारात्मक असरहरू देखिन थालेको छ ।
जलवायु संकटकै यस्तै एउटा पीडा थेगिरहेको छ मुस्ताङको सम्जुङ गाउँ । लोमान्थाङ गाउँपालिका–२ मा अवस्थित उपल्लो मुस्ताङको सम्जुङ गाउँ विगत डेढ दशकअघिदेखि मानवविहीन अवस्थामा छ । त्यहाँ १८ घरधुरी थिए । अहिले त्यहाँ पुरानो शैलीका परम्परागत घरहरू जिवितै छन् । सम्जुङमा पूर्ववत् अवस्थामा घरहरू यथास्थितिमा रहे पनि त्यहाँका मानिसहरू त्यहाँबाट विस्थापित भइसकेको पनि करिब डेढ दशक भइसकेको छ । त्यहाँ बर्खायाममा भेडाच्याङ्ग्रा र याकचौँरी चौँरी रेखदेख गर्ने केही घरधुरीका कुरुवा बस्ने गरेको पाइएको छ । त्यसबाहेक लोमान्थाङ–२ को सम्जुङ बस्ती मानवविहीन रित्तो अवस्थामा छ ।
९जोमसोम–कोरला० मुख्य राजमार्ग सडकबाट झण्डै पाँच घण्टा पैदल हिँडेर पुग्न सकिने मुस्ताङको समजुङ गाउँ भौगोलिक रूपमा निकै नै पिछडिएको र विकट स्थानमा अवस्थित छ । त्यहाँ डेढ दशकअघि स्थानीय घरधुरीले कृषि र पशुपालन व्यवसाय गरी बस्ने गर्थे । त्यहाँ कृषि र पशुपालनमा समस्या देखिन थालेपछि त्यहाँका स्थानीय घरधुरीले बस्ती स्थान्तरणको मार्ग रोजे । जलवायु परिवर्तनकै कारण हिमनदीको स्रोत सुक्दै जान थालेपछि त्यहाँको सिँचाइ, खानेपानी र चरन क्षेत्रलगायतमा समस्या पर्न थाल्यो । यसैका कारण जलवायु अनुकूलका लागि त्यहाँका स्थानीय नागरिकहरू त्यहाँबाट बसाइँसराइ बाटो रोजे ।
निकै अग्लो पठार नाङ्गो डाँडाकाँडाको फेंदमा अवस्थित उपल्लो मुस्ताङको सम्जुङ बस्तीले जलवायुको सङ्कट थेगिरहँदा त्यहाँका स्थानीय नागरिकलाई दैनिक जीविकोपार्जमा निकै नै ठूलो चुनौतीहरूको सामना गर्न बाध्य भए । यिनै जलवायु संकटले गर्दा सिँचाइ, खानेपानी र चरनक्षेत्र असहज हुँदा बस्ती रित्तिन पुगेको हो ।
जलवायुपीडित सम्जुङ गाउँ कहाँ सर्यो ?
उपल्लो मुस्ताङस्थित लोमान्थाङ–२ को सम्जुङ गाउँ डेढ दशकअघिदेखि सोही वडाको नामासुङ भन्ने स्थानमा स्थान्तरित भएको छ । त्यहाँका कूल १८ घरधुरीका पूरै नागरिक नामासुङमा सरेर नयाँ बस्ती निर्माण भइसकेको छ । राष्ट्रिय गौरवको जोमसोम–कोरला मुख्य सडकमार्गदेखि नजिकै छोसर खोलाको पूर्वतर्फको स्थानमा सम्जुङ बस्ती नामासुङमा स्थान्तरित भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।
मुस्ताङी सांस्कृतिक राजा जिग्मे पलवर विष्टका नाममा रहेको करिब एक सय रोपनी लालपुर्जावाला बाँझो जग्गा जलवायुले विस्थापित बस्ती सम्जुङ गाउँलाई नि:शुल्क दान गरेपछि त्यहाँ नयाँ बस्ती बसेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष विष्टको भनाइ छ । त्यहाँ जलवायुले विस्थापित बस्ती समजुङको प्रत्येक घरधुरीलाई चार चार आना क्षेत्रफलमा टहरा निर्माण गर्ने र बाँकी क्षेत्रफलमा खेती गर्ने सुविधा उपलब्ध भएको अध्यक्ष विष्टले उल्लेख गरे ।
मुस्ताङी राजाले आफ्नो स्वामित्वमा रहेको खाली जग्गा सम्जुङ गाउँलाई उपलब्ध गराइएपछि त्यहाँ १८ वटै घरधुरीले समान आकारको उस्ती प्रकृतिका घर टहराहरू निर्माण गरेका थिए । लोमान्थाङ गाउँपालिका–५ लोमान्थाङका पूर्ववडाध्यक्ष नवाङकुङ्गा लामा विष्टको समन्वय र सहकार्यमा त्यहाँ नयाँ बस्ती संरचना निर्माण भएको हो । पूर्ववडाध्यक्ष विष्टका अनुसार सम्जुङबाट विस्थापित बस्तीलाई पुर्नवासको व्यवस्थापन गर्न स्थानीय घरधुरीसँग लागत साझेदारी गरी त्यहाँ घरटहरा निर्माण भई नयाँ बस्ती बसेको हो । त्यहाँ एक स्वीजरल्याण्डको एक संस्थाको ५० प्रतिशत र स्थानीय घरधुरीको ५० प्रतिशत लागत साझेदारी रहने गरी डेढ दशकअघि त्यहाँ बस्ती स्थान्तरण भएको लोमान्थाङ–५ का पूर्ववडाध्यक्ष विष्टको भनाइ छ ।
बस्ती स्थान्तरणका लागि आफूले व्यक्तिगत रूपमा पहल गरेको वडाध्यक्ष विष्टले खुलाए ।
लोमान्थाङ गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विकास केसीले जलवायुकै संकटले त्यहाँका कृषि र पशुपालन प्रणालीमा प्रत्यक्ष/परोक्ष असर देखिएकाले नामासुङमा बस्ती स्थानान्तरण हुन पुगेको बताए। प्राकृतिक स्रोतहरूको अभाव हुँदै जानु र त्यहाँबाट केही सहज स्थानमा बसोबास गर्ने मनसायका कारण त्यहाँका घरधुरी नामासुङमा बस्ती सरेको आफूले बुझेको बताए ।
नामासुङमा स्थानान्तरण भएका घरधुरी कहिलेकाहीँ सम्जुङ गाउँमा पशुचौपाय लिएर जाने र त्यहाँको गोठमा गएर बस्ने गरेको लोमान्थाङका निमित्त प्रशासकीय अधिकृत केसीले उल्लेख गरे । नयाँ स्थानान्तरण भएको बस्ती नामासुङ पुग्न जोमसोम–कोरला सडकमार्गबाट १५ मिनेटको पैदल हिँडेर पुग्न सकिने उनले बताए ।
- सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित
- सांसद चन्दको प्रश्न- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो
- खानेपानी संस्थानको विनियमावली कार्यान्वयन गर्न मन्त्री यादवको निर्देशन
- दीपक मलिकको घर भत्काइएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग
प्रतिक्रिया