प्रतिभाको बढी भन्दा बढी सदुपयोग गर्न जरुरीः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिभाको बढी भन्दा बढी सदुपयोग गर्न जरुरी रहेको बताएका छन् ।

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका १० व्यक्तित्वहरुलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रतिभा सबैसँग हुने तर प्रतिभाको कसले कति प्रयोग गर्‍यो भन्नेकुरा महत्वपूर्ण हुने जिकिर गरे ।

सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा गरेको थियो ।

प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्मान गरे । प्रधानमन्त्री ओलीले उचाई कहिल्यै नसकिने भन्दै सबैले उचाई चुम्दै जानुपर्ने बताए। उपलब्धिबाट सन्तुष्टि लिन नहुने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘प्रतिभा हरेकसँग हुन्छ, तर प्रतिभाको सदुपयोग कति ग¥यो भन्नेकुरा मुख्य हो । कसैको मन व्यापक हुन्छ, मस्तिष्क व्यापक हुन्छ, राष्ट्रव्यापी, जनव्यापी धारणा हुन्छ, कुनै एउटा विषयमा उन्नति प्रगति, खोज अनुसन्धान गरिरहेको हुन्छ, उपलब्धि हाँसिल गर्दछ । यहाँहरु १० जना त्यस्तै व्यक्ति हुनुहुन्छ । कोही पर्वतारोही, कोही समाजसेवी । तपाईंहरुले आफ्नो क्षेत्रमा ठूलो योगदान दिनुभएको छ । यसमा सबैको ध्यानाकर्षण भएको छ ।’

पुरस्कृत हुनेमा टेलिमेडिसिनतर्फ डा.छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा.विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ डा.आभास मास्के (काठमाडौं) र हरिराम श्रेष्ठ (गोरखा) छन् ।

यस्तै चिकित्सा क्षेत्रतर्फ डा.ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी साम्बा (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौं) र रामजी अधिकारी (गोरखा) पुरस्कृत भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर