
राज्यले तर्साउने, धम्क्याउने र असुल गर्ने काम गर्दैन : पूर्वअर्थमन्त्री खतिवडा


पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले सबै उद्यमी व्यवसायीलाई समान रुपले कारोबार र प्रतिस्पर्धा गर्ने मौका दिने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले कुनै निश्चित उद्योगी व्यवसायीको पक्षमा नीति निर्माण नगर्ने बताए ।
उनले अर्थतन्त्रमा देखिएका कानूनी जटिलतालाई समाधान गर्न सरकार लागि परेको बताउल्लेख गर्दै उनले विगतमा अर्थतन्त्रमा देखिएका विभिन्न विकृतिका कारण समस्या उत्पन्न भएको बताउँदै सरकारले लिएको लक्ष्यमा पुग्न नसकिएको बताए । उनले सरकारले राज्यका कुनैपनि निकायमार्फत तर्साउने, धम्क्याउने वा असुली गर्ने काम नगर्ने भन्दै उद्योग व्यवसायीलाई आश्वस्त पारे ।
उनले भने,‘खास गरी अहिले हाम्रो अर्थतन्त्रमा अघि उद्योग मन्त्रीले पनि भन्नुभयो, केही कानूनी जटिलताहरु छन् । त्यसलाई हामीले सल्ट्याउँदै छौँ । हिजोका अर्थतन्त्रका केही विकृतिहरुलाई हामीले समाधान गर्दै जानुपर्नेछ । जुन उत्साह हामीले अपेक्षा गरेका छौँ त्यो रुपमा अझै पुग्या छैनौँ कि भन्ने हामीलाई पनि लागेको छ । तर एउटा दुई वटा कुरामा तपाईहरु निश्चिन्त हुनुहोस् । पहिलो कुरा राज्यले सरकारले कुनै निश्चित व्यवसायीको पक्षमा मात्रै कुनै नीति निर्माण गर्दैन । त्यस्ता व्यवसायको पक्षमा मात्रै कुनै निर्णय गर्दैन । र राज्य निजी क्षेत्रमैत्री हुनका लागि सबै व्यवसायीलाई समान कारोबार गर्ने प्रतिस्पर्धा गर्ने मौका दिन्छ भन्ने कुरामा यो सरकार तपाईहरु आश्वस्त हुनुहोस् । दोस्रो कुरा तपाईहरुले गल्ती नगरुन्जेल राज्यले थुन्ने छेक्ने दुरुत्साहित गर्ने काम गर्दैन । चाहे त्यो राजश्व अनुसन्धानको माध्यमबाट होस् चाहे सम्पती शुद्धिकरणको माध्यमबाट होस्, अख्तियारको माध्यमबाट होेस् वा अरु कुनै माध्यमबाट होस् । राज्यले राम्रो व्यवसाय गर्नेलाई तर्साउने धम्क्याउने र असुली गर्ने काम गर्दैन भन्ने कुरामा तपाईहरु ढुक्क हुनुहोस् ।’
पूर्वअर्थमन्त्री खतिवडाले उद्योग व्यवसायीका लागि आवश्यक परेको अवस्थामा राज्यले छिटो बाटोबाट नीति निर्माण गरी कानूनी समस्या समाधान गर्ने बताए ।
उनले पछिल्लो समय उद्योग व्यवसायमा देखिएको ऊर्जा समस्या समाधान गर्न उद्योगी व्यवसायीले आफ्नै पहलमा केही गर्नुपर्ने भन्दै सरकारले खेल्नुपर्ने भुमिकाका बारेमा दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया