ललितपुर महानगरले चैत १० देखि मेयर कप भलिबल आयोजना गर्दै

ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि सुरु हुने भएको छ ।

आफ्नो १०६ औं वार्षिकोत्सवको अवसरमा ललितपुर महानगरले चैत १० गतेदेखि १५ गतेसम्म पुरुष र महिला भलिबल प्रतियोगिता गर्न लागेको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै महानगरले आफ्नो वार्षिकोत्सवका अवसरमा नेपालको राष्ट्रिय खेल भलिबलको प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषमा १४ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तारको लागि यस प्रतियोगिताले टेवा पुग्ने विश्वास महानगरले लिएको छ । बागमती प्रदेशका पालिकास्तरीय टोली मात्र प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् ।

ती टिममा राष्ट्रिय टिमका सदस्य, विभागीय टोलीका र विदेशी खेलाडीहरू समावेश गर्न नपाइने आयोजकले स्पष्ट पारेको छ । नयाँ प्रतिभाशाली खेलाडीलाई प्रतिभा देखाउने अवसर दिन पनि यस किसिमको आयोजना गरिएको आयोजकको विश्वास छ । साथै आयोजकले पालिकाहरूबिच यस प्रतियोगिताले सुमधुर सम्बन्ध स्थापित गर्ने आशा गरेको छ । महिलातर्फ आयोजक ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, चन्द्रागिरि नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका, सिन्धुपाल्चोकको हेलम्बु नगरपालिका, नुवाकोटको दुप्चेश्वर नगरपालिका र दोलखाको बिगु गाउँपालिकले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पुरुषमा लपु महानगरपालिका, बागमती गाउँपालिका, महांकाल गाउँपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, मेलुङ्ग गाउँपालिका, मन्थली नगरपालिका, महांकाल–४ सिएलसी, दुप्चेश्वर गाउँपालिका, पनौती नगरपालिका, गल्छी नगरपालिका, पञ्चकन्ष गाउँपालिका, काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिकाले चुनौती प्रस्तुत गर्नेछन् । महिला र पुरुष दुवैमा शीर्ष तीन स्थानमा रहने टोलीले समान दुई लाख, एक लाख र ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले समान १० हजार रुपैयाँका साथै विधागत उत्कृष्ट अन्तर्गत स्पाइकर, सेटर, ब्लकर, लिबेरो र प्रशिक्षकले पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर