
महायज्ञका लागि दलित बस्ती हटाउने सीडीओ मन्त्रालय तानिए

सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ ।
सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका छन् ।
सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञ आयोजना गर्न भन्दै दलित परिवारको घर भत्काइएको विषय संसद्सम्म पुगेपछि प्रजिअलाई फिर्ता बोलाइएको हो।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक समय लिएर उक्त विषय उठाएका थिए। उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन र दलित समुदायमाथि भइरहेका हत्या, हिंसा तथा विभेदका घटनामा दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नदिने भन्दै सिराहाको औरही ५ का दीपक मलिक डोमको घर गाउँपालिका अध्यक्ष शिवजी यादवसहितको संलग्नतामा गाउँपालिकाकै डोजर प्रयोग गरी भत्काइएको थियो। दलित बसेको भूमि अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालिएको घटना बुधबारै सार्वजनिक भएको थियो।
प्रतिक्रिया