सगरमाथालगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही

सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् ।

पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन खटाएको हो । अनुभवी ‘गाइड’ अशोक लामा नेतृत्वको टोलीले यो ‘सिजन’ को आरोहणका लागि सगरमाथा, ल्होत्से र आमादब्लम हिमालमा बाटो बनाउनेछ ।

सङ्घले यसको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ । सोही कम्पनीमार्फत सगरमाथामा बाटो खोल्ने कार्यमा अशोक लामाको नेतृत्वमा कर्माग्याल्जेन शेर्पा, पेमनुरबु शेर्पा, मिङदावा शेर्पा, टासी शेर्पा, पासारिन्जी शेर्पा, पास्तान्जेन शेर्पा र टासीनर्बु शेर्पा सहभागी छन् ।

सङ्घले सो टोलीलाई सगरमाथाको बाटो निर्माणका लागि आवश्यक सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ । सङ्घका महासचिव ऋषिराम भण्डारीले वसन्त ऋतुको सगरमाथा हिमाल आरोहणका लागि बाटो बनाउन दक्ष आरोही त्यसतर्फ गएको बताए।

‘सगरमाथा र ल्होत्से हिमालमा बाटो बनाउन तथा डोरी टाँग्न दक्ष शेर्पा आरोही सामग्रीसहित सगरमाथा प्रस्थान गरेका छन्, उनले भने, योसँगै सगरमाथा आरोहणको चहलपहल बढेको छ । अधिकांश ठूला आरोहण व्यवस्थापन गर्ने कम्पनीका कर्मचारी आधार शिविरमा व्यवस्थापनको काममा खटिएका छन् ।’

एट्के कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले सगरमाथाको चुचुरोसम्म टाँग्ने डोरी, ‘क्लाइम्बिङ इक्युमेन्ट’, ‘टेक्निकल डिभाइस’ बाटो बनाउने टोलीलाई हस्तान्तर गरिएको जानकारी दिए।

उनले सगरमाथा आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन कम्पनीले सम्पूर्ण क्षमताका साथ काम गर्ने विश्वास व्यक्त गरे । ‘दक्ष व्यावसायिक आरोहीको टोली सगरमाथालगायत हिमालको बाटो बनाउने कार्यमा खटिएको छ”, उनले भने, “पूरै टिमको नेतृत्व मैले गर्दैछु  । आरोहण योजना, मौसमको सूचनालगायत व्यवस्थापकीय कामको प्रबन्धसहित पूरै टिमको नेतृत्व मैले गर्नेछु । मौसमको अनुकूलता हेरी समयमै डोरी टाँगिनेछ ।’

यो पटक मौसमले साथ दिने अनुमान गरिएकाले ६०० भन्दा बढी आरोही सगरमाथा आरोहणमा जाने अपेक्षा गरिएको प्रबन्ध निर्देशक शेर्पाले बताए।

पर्यटन विभागसँगको सम्झौताअनुरुप पर्वतारोहण सञ्चालक सङ्घले हरेक वर्ष ‘रोप फिक्सिङ’को काम ‘टेन्डर’मार्फत कम्पनी छटौन गरेर दक्ष शेर्पालालाई सगरमाथाको बाटो खुलाउन खटाउने गरेको छ । यस्तो टोलीले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने तथा डोरी टाँग्नेछ । सन् २०२५ का लागि एट्के एक्सिपिडिसन कम्पनीले जिम्मेवारी पाएको छ ।

सन् २०२४ मा सेभेन समिट ट्रेकले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने जिम्मा पाएको थियो । सन् २०२३ मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले सगरमाथामा रोप फिक्सिङ गरेको थियो । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाउन ‘आइसफल डाक्टर’ खटाउने गरेको छ । यो सिजनका लागि १० जनाको टोली खटाइएको एसपिसिसीले जनाएको छ । दुवै टोलीले सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउनेछन् । खुम्बु आइसफलमा बाटो बनाउने दक्ष आरोहीलाई (आइसफल डाक्टर) भनिन्छ ।

वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु गरिएको हो । एसपिसिसीको व्यवस्थापनमा खुम्बु आइसफल क्षेत्रको बाटो निर्माण तथा मर्मतको काम गरिँदै आएको अध्यक्ष लामाकाजी शेर्पाले बताए। उनका अनुसार वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल समय भएकाले अनुभवी ‘आइसफल डाक्टर’ टोली आवश्यक उपकरण तथा सामग्रीसहित नाम्चेबाट आधार शिविरमाथि बाटो बनाउने कार्यमा खटिएका छन् । टोलीमा आधार शिविर व्यवस्थापक छिरिङतेन्जिङ शेर्पासहित आठजना अनुभवी ‘आइसफल डाक्टर’ छन् । दुईवटा छुट्टाछुट्टै टोली गठन गरिएको छ, जसको नेतृत्व आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले गरेका छन् । टोलीमा दाबानुरु शेर्पा, निमतेन्जी शेर्पा, मिङ्माग्याल्जेन शेर्पा, दाबाछिरी शेर्पा, लाक्पासोना शेर्पा र तेन्डु शेर्पा छन् ।

खुम्बु आइसफल क्षेत्र सबैभन्दा जोखिमयुक्त क्षेत्र हो, जहाँ हिउँको विशाल ढिस्को, भ्वाङ, अनि हिमपहिरोको खतरा रहन्छ । टोलीले सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्नुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, जोखिमपूर्ण स्थानमा भ¥याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता कार्य गर्छन् ।

दोस्रो आधार शिविरसम्मको बाटो बनाउन झन्डै २० दिन लाग्ने अनुमान गरिएको छ । पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ४१ समूहका ७५ महिला र ३३९ पुरुषसहित ४१४ जनाले अनुमति लिएका थिए । यो वर्ष पनि आरोहणका लागि उपयुक्त मौसम हुने र उल्लेख्य सङ्ख्यामा आरोही आउने पर्यटन व्यवसायीको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *