
अजरबैजान पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गर्ने पक्राउ


वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक व्यक्ति काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ बाट पक्राउ परेकी छिन्।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई अजरबैजान पठाउने भन्दै ठगी गरेको आरोपमा लक्ष्मी ठटाललाई प्रहरीले पक्राउ गरेको हो।
लामो समयसम्म रोजगारीका लागि अजरबैजान पठाउने बहानामा झुक्याएर सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। अनुसन्धानको क्रममा ठगी गर्ने व्यक्ति काठमाण्डौंबाट पक्राउ परेकी हुन्। ठगीबाट पीडित ६ जनाबाट तेत्तिस लाख पचास हजार रुपैयाँ ठगी भएको खुलेको छ।
पक्राउ परेकी लक्ष्मी ठटालको स्थायी ठेगाना ओखलढुङ्गा, मोलुङ गाउँपालिका वडा नं. ४ भए पनि हाल उनी काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ मा बस्दै आएकी थिइन्। उनलाई मंगलवार कागेश्वरी मनोहराबाट पक्राउ गरिएको हो।
पक्राउ परेकी ठटाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया