खुला बजारमा वस्तुको भाउ व्यवसायीले नै तोक्छः उद्योगमन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट व्यवसायीको पक्ष लिँदै खुला बजारको वस्तु भाउ व्यवसायीले नै तोक्ने बताएका छन् ।

मंगलवार सिंदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

खुला बजारमामा वस्तुको भाउ उद्योगीले तोक्ने उनको भनाइ छ । उनले सरकारको काम उद्योगसँग सम्बन्धी कानूनी समस्याहरु हल गरिदिने मात्र रहेको बताए ।

उनले राष्ट्र बैंकले प्रत्येक महिना जारी गर्ने मुद्रास्फीति दरका आधारमा सिमेन्टको मूल्यमा वृद्धि गरिएको हुनसक्ने बताए । उनले सिमेन्टको मूल्यवृद्धि गर्नुमा लोडसेडिङ लगायतका कारणहरु देखाउँदै राष्ट्र बैंकले तोकेको ब्यालेन्ससिटको आधारमा भन्दा बढी लिए मन्त्रालय एक्सन उत्रिने बताए।

मन्त्री भण्डारीले उद्योग पनि बच्ने र उपभोक्ताले सहज रुपमा सिमेन्टे समेत प्राप्त गर्ने वातावरण तयार गर्न मन्त्रालयले उचित समन्वय गर्ने बताए । उनले भने, ‘अहिले हामी खुला बजारमा छौं । वस्तुमो मूल्य केले तोक्छ त भन्दा बजारले, उद्योगीले तोक्छ । हामीले अवलम्वन गरेको यही प्रणाली होइन ? ऐन हामीले बनाइरहेका छौं, कानून हामीले बनाइरहेका छौं । हामीले बनाएको कानून एकपटक हामी आफैं हेरौं न । मैले भनेको उद्योगी व्यवसायीसम्बन्धी ऐन पनि हामीले बनायौं, उपभोक्ता संरक्षण ऐन पनि हामीले बनायौं । पछिल्लो पटक कालोबजारी ऐन खारेज गर्दाखेरि उपभोक्ता संरक्षण ऐनका बारेमा हामीले फेरि छलफल गरेका छौं । हामीले यो विषयमा छलफल गर्दा ऐनमा केही नियमावलीको संशोधनको समेत आवश्यकता महसुस गरेका छौं । प्रत्येक महिना राष्ट्र बैंकले जारी गर्ने ब्यालेन्स सिटको आधारमा मुद्रास्फीति दरका आधारमा सिमेन्टको मुल्य तोकिएको हो । यदि त्यो भन्दा माथि छ भने त्यसको नियन्त्रणको लागि मन्त्रालयले कुनै कसर बाँकी राख्दैन ।’

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले सिमेन्टको मूल्यवृद्धि गर्नुभन्दा पहिले त्यसको वैज्ञानिक कारणबारे छलफल गर्न व्यवसायीहरुसँग आग्रह गरे । उनले व्यवसायीले एकतर्फि मूल्यवृद्धि गर्दा समाचारबाट जानकारी पाउनुपर्ने स्थिति रहेको बताए ।

उनले सिमेन्टको मूल्य सधैं एउटै हुनुपर्छ भन्ने अपेक्षा उपभोक्ताले नराख्ने उल्लेख गर्दै त्यसको कारणबारे अगाडि नै छलफल गर्न जरुरी रहेको बताए । घाटामा सिमेन्ट बेच्नुपरेको कारण मूल्यवृद्धि गरेभन्न नमिल्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *