
पहुँचको नभई पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु : आईजीपी थापा


नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी ) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । मंगलबार बिहान गृह मन्त्रालयमा एक समारोहका बीच गृह सचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सोमबार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो । नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१औं आईजीपी बनेका छन् ।
दर्ज्यानी चिन्ह ग्रहण गरेपछि बोल्दै महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्न प्रयत्न गर्ने बताए । अपराधको रोकथाम र अनुसन्धान कुनैपनि बहाना र विकल्प बिना अघि बढाउने प्रतिबद्धता जनाए । देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा अमन चयन र कानूनी राज्यको प्रत्याभूति दिलाउन आफूले पहल गर्ने उनको प्रतिबद्धता छ ।
कार्यक्रममा बोल्दै गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकको शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र समृद्ध नेपालको लक्ष्यका लागि काम गर्न आग्रह गरेका छन् । उनले आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक, इमानदारिता साथ पूरा गर्ने विश्वास व्यक्त गरे । उनले शान्ति सुरक्षा र सुव्यवस्थाको विषय देखिने विषय मात्रै नभई अनुभूत गर्ने विषय भएकाले आम नागरिकले अनुभूति गर्नेगरी शान्ति सुव्यवस्था कायम गर्नु सबैको कर्तव्य भएको बताए ।
आम नागरिकका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताए । उनले सरकारप्रति नकारात्मक धारणा आइरहेको अवस्थामा सुरक्षा चुनौती पनि थपिरहेको बताए । सडक दुर्घटना न्यूनीकरण, लागूपदार्थ दुर्व्यसनका घटना न्यूनीकरण गर्न, साइबर अपराधका घटनाहरूको न्यूनीकरण जरुरी रहेको उनको भनाई छ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया