
खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट


खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२मा सामुदायिक वनको डढेलो गाउँ पस्दा एक सामुदायिक विद्यालयसहित सात घर जलेर नष्ट भएका छन् ।
स्थानीय बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा डिकुवास्थित छुम्पाङ, बाघखोर, च्यानटार, पाँचभैयाटार र लाङमाका सात घर जलेर पूर्ण रूपमा नष्ट भएका हुन् ।
स्थानीय अडमे राई, नगेन्द्र राई, हीराशेर राई, पिर्तिबहादुर राई, रणबहादुर राई, अविन्द्र राई र हीराधन राईको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
सोही डढेलोले बालकन्या आधारभूत विद्यालयमा समेत क्षति पुगेको स्थानीयवासी घनश्याम राईले जानकारी दिए । कक्षा–५ सम्म पढाइ हुने विद्यालयको काठबाट बनाइएको दुइकोठे भवन डढेलोले जलेर नष्ट भएको हो ।
डढेलो गाउँ पसेर क्षति गर्न थालेपछि निभाउने प्रयास भइरहेको सो वडाका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिए । ‘गाउँ पसेको डढेलो निभाउन स्थानीयवासी, नेपाली सेना, सशस्त्र तथा जनपथ प्रहरी खटिएका छन्’, उनले भने, ‘डढेलो लागेको ठाउँ सुख्खाग्रस्त क्षेत्रमा पर्छ । आगो निभाउन पानी छैन । घरमा लागेको आगो समयमा निभाउन नसक्दा ठूलो क्षति भएको छ ।’
दाम्लीको नबेल्खा जङ्गलमा आइतबारदेखि सुरु भएको डढेलोले डिकुवाका अन्य घरहरुमा समेत क्षति पुग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ । दिक्तेलस्थित रणभीम गण मुडे ब्यारेकबाट खटिएका नेपाली सेनाले अग्नीरेखा निर्माण गरिरहेको वडाध्यक्ष राईले जानकारी दिए ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया