सेवा निवृत्त प्रहरी महानिरीक्षक कुँवरसहित वरिष्ठ अधिकृतहरूको बिदाइ

नेपाल प्रहरीमा तीन दशकभन्दा बढी सेवा पुर्‍याएका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरसहित अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ गरिएको छ । सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विशेष सम्मानसहित बिदाइ गरे ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै निवर्तमान प्रहरी महानिरीक्षक कुँवरले संगठनप्रति आफ्नो समर्पण व्यक्त गर्दै नेपाल प्रहरी परिवारप्रति आभार प्रकट गरे । उनले प्रहरी सेवाबाट निवृत्त हुँदै सामाजिक जीवनमा प्रवेश गर्ने यस क्षणमा संगठनले प्रदान गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गरे । साथै, नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाको नेतृत्वमा संगठनले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उहाँलाई सफल कार्यकालको शुभकामना दिए ।

समारोहमा कुँवरले आफ्नो कार्यकालमा भएका उल्लेखनीय उपलब्धिहरू समेटिएको प्रतिवेदन दिपक थापालाई हस्तान्तरण गरे । त्यसक्रममा नवनियुक्त आईजीपी थापाले निवर्तमान प्रहरी अधिकृतहरूको योगदानको प्रशंसा गर्दै नेपाल प्रहरीको श्रीवृद्धिमा उहाँहरूको भूमिकाले महत्वपूर्ण टेवा पुगेको बताए । उनले संगठनलाई अझ बलियो बनाउने र विगतका सफल अभ्यासहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

बिदाइ हुने अन्य प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा टेक प्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत, जनक भट्टराई तथा प्रहरी नायव महानिरीक्षकहरू ध्रुवराज राउत, भोला बहादुर रावल र गणेश चन्द रहेका छन् ।

सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरलाई पनि सम्मानपूर्वक बिदाइ गरिएको थियो।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृत एवं जवानहरूको उपस्थिति रहेको थियो। उनीहरूले बिदाइ हुने प्रहरी अधिकृतहरूलाई शुभकामना व्यक्त गर्दै सम्मानपूर्वक बिदाइ गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर