सबैलाई धन्यबाद दिएर बिदा भए आईजीपी वषन्त कुँवर

नेपालको प्रशासन, न्यायालय र सुरक्षासहित सबै अंगहरु राजनीतिक भाइरसग्रस्त छन् । यसमा पनि नेपालका सुरक्षा संगठनहरु (नेपाली सेनामा केही मात्रा कम) कार्यपालिकाको कोपभाजनमा पर्दै आएका छन् । यहाँ सिपाहीदेखि महानिरीक्षकसम्मले एउटा फेरो समाएका हुन्छन् । त्यो फेरो सधै अनुकुल रहन्छ भन्न सकिदैन् ।

यही अवस्थामा व्यवसायिक रुपमा प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्म अघि बढेका आईजीपी वषन्तबहादुर कुँवरका लागि त्यसमाथिको यात्रा सहज रहेन् ।

उनी बढुवा त भए तर बरियतामा पछि पारिए । एकाएका उर्जाशिल वषन्त झोक्राउन थाले । उनी प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहँदा त्यसबेलाका प्रमुख एआईजी पुष्कर कार्कीले आफ्नै उदाहरण दिएर उनलाई भनेका थिए, ‘के चिन्ताले आफुलाई दुखी बनाएको वषन्त, यो वरियतामा फेरि अघि आउन सकिन्छ । के थाह तिमी एकदिन चिफ नै हुन्छौं कि ।’

एआईजी कार्कीको भनाई आखिरमा सत्य सावित भयो । प्रहरी वरिष्ठ उपरीक्षकबाट उकालो लागेका वषन्तले देशको प्रहरी संगठन दुई वर्ष हाँकेर सोमबार मध्यरातबाट सेवानिर्वित भएका छन् ।

आफ्नो कार्यकालमा देशमा ठुला ठुला अपराधका घटनालाई टिम वर्कका साथ पार लगाएका वषन्तले आफ्ना ब्याचीहरु कसैको पनि चित्त दुखाएनन् । उनीसँग सोमबार साँझ सबै हासीखुसी बिदा भए ।

प्रहरी महानिरीक्षक वषन्तबहादुर कुँवरले जादाजाँदै सबैलाई विनम्रतासँग धन्यबाद दिएका छन् ।

उनले लेखेका छन् , ‘नेपाल प्रहरी संगठनमा तीन दशक अविच्छिन्न सेवा पश्चात् आज प्रहरी महानिरीक्षकको पदबाट सेवानिवृत हुँदैछु । नेपाल प्रहरी जस्तो गौरवशाली संगठनको सदस्य भई देश र जनताको सेवा गर्ने अवसर पाएकोमा म गौरवान्वित छु । सेवाबाट अवकाश हुन लागे क्षणमा नेपाल सरकार, आम नेपाली नागरिक र समस्त नेपाल प्रहरी संगठन प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु ।’

उनले प्रहरी संगठनमा आफ्नो अन्तिम सम्बोधनमा विभिन्न समय र परिस्थितिमा कर्तव्यपालना गर्दै गर्दा मृत्युवरण हुनु भएका अमर प्रहरीहरू प्रति हार्दिक श्रद्धा-सुमन व्यक्त गर्दै कर्तव्यपालनका क्रममा अस्वस्थ रहनुभई उपचाररत् प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।उनले नेपाल प्रहरीको श्रीवृद्धिमा महत्वपूर्ण योगदान गर्नुहुने अग्रजहरूलाई उच्च सम्मान सहित स्मरण गरेका छन् ।

‘मेरो कार्यकाल संविधान र प्रचलित कानून प्रदत्त जिम्मेवारीलाई ईमान्दारीपूर्वक निर्वाह गरी नागरिकमा कानूनी राज्यको प्रत्याभूति हुने सेवा प्रवाहको मूल दायित्व बहन गर्दै मानव अधिकारको रक्षा तथा उच्च सम्मान र निष्पक्ष कानून कार्यान्वयनका क्रममा प्रमाणमुखी अनुसन्धान गर्दै अवाञ्छित गैरकानुनी गतिविधिलाई नियन्त्रण र निस्तेज पारी मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था सुदृढ तुल्याउने प्राथमिकतामा रह्यो,’ उनले लेखेका छन् ।

नेपाल प्रहरी संगठनको नेतृत्वदायी भूमिकामा रहँदा यस अवधिमा शान्ति सुरक्षा, अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धान एवम् प्राकृतिक विपत्ति लगायत विविध क्षेत्रमा सुरक्षा चुनौतीहरू देखा परे । संगठनका सकल दर्जाले अपराध अनुसन्धान र प्रहरी कारबाहीको क्रममा देखाएको व्यावसायिकता, सुरक्षा संवेदनशीलता, कर्तव्यभाव र निष्ठाकै कारण हामी ति सबै चुनौतीहरू सामना गरि कार्यसम्पादन गर्न सक्षम भएका हौं। यस योगदानका लागि यहाँहरू सबैलाई सहर्ष धन्यवाद दिँदै संवेदनशील घडीमा हामी आपसी एकता, धैर्यता र स्व(अनुशासनका साथ नागरिक सेवामा खटिदै यस गरिमामय र गतिशील संगठनको साख श्रीवृद्धि र विश्वसनीयता अक्षुण्ण राख्न समेत आग्रह गरेका छन् ।

संगठनको संस्थागत विकास, प्रहरी कर्मचारीका लागि वृत्ति विकास र क्षमता अभिवृद्धि तथा संगठनलाई साधन श्रोत सम्पन्न तुल्याउन समयसापेक्ष कानून तथा नीति नियम निर्माण र परिमार्जन, थप सेवा सुविधा, प्रहरी कार्यहरूमा प्रविधिको प्रयोग तर्फ उल्लेखनीय पहलकदमी र शुरुवात भएका छन् । लामो समयदेखि रोकिएको युएन  र एफपियु, मिसनलाई पुनः सुचारु गर्ने मेरो प्रयत्नबाट निकट भविष्यमा नेपाल प्रहरीका अधिकृत तथा जवानहरूले संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागी हुने अवसर पाउनेछन् भन्ने आशा गरेको उनले उल्लेख गरे ।

‘यहाँहरूले निर्वाह गर्नुभएको व्यावसायिकता र निष्ठाले नेपाल प्रहरीको गरिमा उच्च बनाएको छ । भविष्यमा समेत नेपाल प्रहरीलाई देश र जनताको सेवामा समर्पित मुलुकको उत्कृष्ट संगठनको रूपमा नेपाल प्रहरीलाई स्थापित गराउन सत्प्रयास गर्नुहुने नै छ भन्ने पूर्ण विश्वासका साथ यहाँहरूको सफल व्यावसायिक जीवनको शुभकामना समेत दिन चाहन्छु,’ उनको बिदाई पत्रमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *