बैंक तथा वित्तीय संस्थामार्फत मात्रै कारोबार गर्नुस् : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले नियमन गरेको बैंक तथा वित्तीय संस्थाबाट मात्रै कारोबार गर्न आग्रह गरेका छन् ।

काठमाडौंमा सोमवार आयोजित ‘ग्लोबल मनी विक’ लाई सम्बोधन गर्दै उनले राष्ट्र बैंकबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाबाट बचत गर्ने बानीको विकास गर्नुपर्ने बताए ।

उनले नेपाल राष्ट्र बैंकले आफ्नो कोर म्याण्डेटको अलवा वित्तीय समावेशितालाई एउटा महत्वपूर्ण एजेन्डाका रुपमा लिएको बताएका छन् । उनकाअनुसार राष्ट्र बैंकले सबै सर्वसाधारणको बैंकमा खाता होस् र ती खाताहरू सक्रिय रूपले चलुन् भन्ने मानसिकता राख्छ । उनले केही सिक्न, केही वित्तीय जानकारी लिँदा आम विद्यार्थीको व्यवहारमा समेत केही न केही परिवर्तन आउने बताए ।

वित्तीय हिसाबले सचेत हुँदा आचारणमा समेत परिवर्तन ल्याउने समेत बताए ।

उनले भने –‘भोलिका दिनमा आफू व्यक्तिगत रुपमा पनि सुरक्षित हुन सकिन्छ । स्वच्छ समाज निर्माणमा सहयोग पुग्छ । त्यो त्यतिमा मात्रै सीमित छैन, समग्र राष्ट्रलाई समेत विद्यार्थीहरूले स्वच्छ बनाउन सघाउ पुर्याउँछ । त्यसैले विद्यार्थी उमेरमै वित्तीय रुपमा जानकार हुनुपर्छ भनेर राष्ट्रले त्यससम्बन्धी शिक्षाका लागि प्रयास गर्ने गरेको छ । यो सिलसिलामा स्कुलको पाठ्यक्रममा पनि वित्तीय साक्षरता, समावेशिता राख्न हामीले खोजेका छौं । हाम्रो प्रयास भइरहेको छ, कसरी पाठ्यक्रममा वित्तीय शिक्षालाई समावेश गर्ने भनेर यही वर्ष पनि पाठ्यक्रम विकास केन्द्रसँग संयुक्त रुपमा अन्तरक्रिया कार्यक्रम गरेका छौं । वित्तीय शिक्षाको एउटा महत्वपूर्ण पाटो सेभिङ जरुरी छ । कोर सेभिङ जरुरी छ । जबरजस्त भएपनि वित्तीय संघ संस्थामार्फत बचत गर्नुपर्छ, सँगसँगै आफ्नो बजेटिङको पनि ख्याल गर्नुपर्छ । ’

गभर्नर अधिकारीले घाँटी हेरेर हाड निल्नु भनेजस्तै आफ्नो क्षमता हेरेर खर्च गर्ने परिपाटीको विकास हुन जरुरी रहेको बताए । वित्तीय साक्षरताका बारेमा राष्ट्र बैंकले देशभर जागरण चलाइरहेको र यसलाई व्यापक बनाउँदै लैजाने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर