नेपालमा वन डढेलोले ५० करोड टन कार्बन र जैविक विविधतामा खतरा

नेपालमा डढेलोको सिजन सुरु भइसकेको छ, तर अझै भयावह भने आउन बाँकी छ

नेपालका जंगलहरू जलवायु परिवर्तनका कारण बढ्दो वन डढेलोको गम्भीर जोखिममा रहेको नयाँ अध्ययनले देखाएको छ। इन्फर्मेशन जियोग्राफी पत्रिकामा प्रकाशित अनुसन्धानअनुसार, यदि डढेलो नियन्त्रण गरिएन भने, १७ करोड टन माटो कार्बन र ३२ करोड ५० लाख टन काठ कार्बन वातावरणमा मुक्त हुनसक्छ, जसले जलवायु संकटलाई थप जटिल बनाउनेछ।

डढेलोको उच्च जोखिममा नेपालका दक्षिणी क्षेत्रहरू

अध्ययनअनुसार लुम्बिनी, मधेश, र सुदूरपश्चिम प्रदेशहरू वन डढेलोको उच्च जोखिममा छन्। नेपालका २० मध्ये ६ वटा संरक्षित क्षेत्रहरू—जस्तै चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज—डढेलोको चरम खतरा सामना गरिरहेका छन्। यसले दुर्लभ वन्यजन्तु, जस्तै बंगाल बाघ, एकसिंगे गैँडा, र जङ्गली हात्तीलाई ठूलो जोखिममा पार्ने अध्ययनले चेतावनी दिएको छ। साथै, काठमाडौँलगायतका प्रमुख सहरहरूको वायु गुणस्तरमा समेत नकारात्मक असर पर्ने देखिन्छ।

नेपालमा वन डढेलोको प्रभाव पहिले नै देखिन थालेको छ। पछिल्लो तथ्याङ्कअनुसार, यस वर्ष ५३ जिल्लाका ४३६ स्थानमा वन डढेलो भइसकेका छन्। विशेषज्ञहरूले अप्रिल र मे महिनामा यसको प्रभाव अझ बढी हुनसक्ने अनुमान गरेका छन्। प्रमुख अनुसन्धानकर्ता क्षितिज दाहाल (एरिजोना स्टेट युनिभर्सिटी) का अनुसार, ‘नेपाल कार्बन-तापमानको दुष्चक्रमा फसेको छ, जसले जैविक विविधतालाई ठूलो चुनौतीमा पार्न सक्छ।’ काठमाडौं फरेस्ट्री कलेजका प्राध्यापक डा. अम्बिका प. गौतमका अनुसार, ‘यदि हामीले तत्काल कदम चालेनौं भने, केही महिनाभित्रै महत्वपूर्ण जैविक विविधता गुमाउनेछौं, र जलवायु परिवर्तन झन् जटिल बन्नेछ।’

नेपालमा डढेलो नियन्त्रण गर्न विभिन्न रणनीतिहरू आवश्यक रहेको विज्ञहरूले औँल्याएका छन्। अध्ययनमा संलग्न वैज्ञानिकहरूले सामुदायिक गस्ती समूहहरूको गठन, कृत्रिम बुद्धिमत्तामा आधारित प्रारम्भिक चेतावनी प्रणालीको विकास, तथा अन्तरदेशीय सहकार्यलाई प्रवर्द्धन गर्नुपर्ने सुझाव दिएका छन्। ग्रोनिङ्गन विश्वविद्यालयका डा. प्रजल प्रधानका अनुसार, ‘नेपालले केवल डढेलो नियन्त्रण मात्र होइन, जलवायु नीति तथा जैव विविधता संरक्षण कार्यक्रमहरूलाई दिगो विकाससँग जोडेर हेर्नुपर्छ।’

स्टोरीसाइकलका जलवायु तथा वन निर्देशक पशुपति नाथ कोईरालाका अनुसार, ‘वन डढेलोहरूले जैविक विविधता मात्र होइन, नेपालको कार्बन व्यापार रणनीतिलाई समेत कमजोर पार्दै २०४५ सम्म नेट-जीरो कार्बन देश बन्ने लक्ष्यलाई चुनौती दिनेछन्।’

यस अध्ययनका लागि एरिजोना स्टेट युनिभर्सिटी, ज्याक्सन स्टेट युनिभर्सिटी, ग्रोनिङ्गन विश्वविद्यालय, र काठमाडौं फरेस्ट्री कलेजका अनुसन्धानकर्ताहरूले नासा पृथ्वी अवलोकन डेटा तथा मेसिन लर्निङ प्रविधिको प्रयोग गरेका थिए। यो अनुसन्धान नेपालमा वन डढेलो, कार्बन भण्डारण, र जैविक विविधताबीचको सम्बन्ध बुझ्न गरिएको पहिलो राष्ट्रिय स्तरको अध्ययन हो।

नेपालका लागि किन महत्त्वपूर्ण?
वन डढेलोको मौसम सुरु भइसकेको छ । अप्रिल र मे महिनामा यसको उच्चतम स्तर पुग्नेछ।
स्वास्थ्य: डढेलोबाट उत्पन्न प्रदूषणले अस्पतालहरूमा श्वासप्रश्वास समस्याका बिरामीहरूको चाप बढाउन सक्छ।
अर्थतन्त्र: पर्यटन क्षेत्र (जिडिपी को ४ प्रतिशत) संरक्षित क्षेत्रहरूमा निर्भर छ । जुन अहिले जोखिममा छन्।
संस्कृति: जडीबुटी, औषधीय वनस्पति, र आदिवासी समुदायहरूको जीविका संकटमा पर्न सक्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर