
राज्यले पूर्वविशिष्टलाई दिने सेवा सुविधाबारे सञ्चारमाध्यमले भ्रम सिर्जना गर्यो : डा. महत


नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले पूर्वविशिष्टहरूलाई सेवा सुविधा थप्ने भनेर सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नभएको बताएका छन् ।
आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देशको सीमित स्रोत साधनबाट धेरै महत्वपूर्ण काम गर्नुपर्ने बताए ।
उनले देशले धान्नसक्ने गरी मात्रै सेवा सुविधा दिनुपर्ने बताए । उनले मिडियाले गलत समाचार सम्प्रेषण गरेर भ्रम सिर्जना गरेको आरोप लगाए । उनले देशको अर्थतन्त्रलाई हेर्दा बरु सेवा सुविधा घट्ने तर कुनै हालतमा नबढ्ने दाबी गरे । पूर्वविशिष्टहरूलाई दिने सेवा सुविधाका बारेमा कानुनको आवश्यकता महसुस गरेर सरकारले यस विषयमा मस्यौदा ल्याउने कुरा गरेको उनको भनाइ छ ।
उनले भने ‘यसमा सत्यता छैन, बढ्ने भन्ने कुरो हुनै सक्दैन । घट्छ, बढ्दैन । घट्न सक्ला तर बढ्दैन । तर यसको विषयमा कानुन चाहिन्छ भनेर कानुनको ड्राफ्टको कुरा चाहिँ सरकारले ग¥या होला । तर बाहिर सार्वजनिक रुपमा मिडियामा बढाउन खोज्यो भनेर आयो त्यसमा कुनै सत्यता छैन । यो भ्रमपूर्ण कुरा हो । बढाउने कुरो छैन भोलि कानुन आयो भने घट्ला बढ्न चाहिँ बढ्दैन । हामी घटाउने कुरा गर्छौँ, बढाउने कुरा गर्दै गर्दैनौँ, निश्चिन्त भए हुन्छ । हाम्रो देशको स्रोत, साधन र क्षमतामा मध्यनजर राखेर सेवा सुविधाको कुरा गर्नुपर्छ । अहिले सीमित स्रोतबाट अरु धेरै महत्वपूर्ण काम गर्नुपर्छ ।’
सांसद महतले विगतमा नेपाली काँग्रेसले जनप्रतिनिधिले शासनसत्ता चलाउने गरी एकताको प्रतिकका रुपमा राजा स्वीकार गरेको बताए । राजाले नै जनताको अधिकार खोसेर हातमा लिएपछि गणतन्त्रको बाटो रोजेको उनको भनाइ छ ।
प्रतिक्रिया