
सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएका कारण राजावादीहरु व्यवस्थाविरुद्धमा लागे : सांसद सुवेदी


नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदीले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरू असफलसिद्ध भइसकेको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवेदीले सरकार आफैँले गरेको मूल्याङ्कनमा फेल भएको टिप्पणी गरेकी हुन् ।
उनले सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको आरोप समेत लगाइन् । उनले सरकार विद्युत प्राधिकरणको कर्मचारीको पछिपछि दौडिरहेको र केबलकार निर्माणका विषयमा आन्दोलन गरिरहेका पक्षलाई दमन गरेर मानव अधिकारको धज्जी उडाइरहेको तथा व्यापारीको पक्षपोषण गरिरहेको आरोप लगाइन् ।
उनले सरकारमा रहेका नेता र तिनका परिवार जोडिएका काण्डहरूमा छानबिन नगरी सत्ताको चरम दुरुपयोग गरिएको बताइन् । आफ्नालाई छानी छानी जोगाउन र विपक्षीलाई तानितानी फसाउने सरकारको हर्कतका कारण नागरिकहरूमा निराशा छाएको टिप्पणी गरिन् ।
उनले भनिन् ‘रातारात गठन गरेर मुलुकलाई रामराज्य बनाउन लागेको सरकार आफैँले गरेको मूल्याङ्कनमा फेल भएको छ । प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू असफलसिद्ध भएका छन् । सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको छ । विद्युत प्राधिकरणको कर्मचारीको पछिपछि दौडिरहेको छ । ताप्लेजुङको मुकुम्लुङमा आन्दोलन गरिरहेका पक्षलाई दमन गरेर मानव अधिकारको धज्जी उडाएको छ र व्यापारीको पक्षपोषणमा उद्दत भइरहेको छ । आन्दोलनरत पक्षसँग छलफल गरि समस्या समाधान गर्न लागिरहेको छैन । सरकारमा रहेका नेता र तिनका परिवार जोडिएका काण्डहरूमा कुनै छानबिन हुँदैन । सहकारी ठगी र मानव बेचबिखनमा जोडिएको सर्लङ्ग हुँदाहुँदै पनि अनुसन्धान गरिँदैन । सत्ताको दुरुपयोग गरि जोगाइन्छ । आफ्नालाई छानी छानी जोगाउन र विपक्षीलाई तानि तानि फसाउने हर्कतका कारण नागरिकहरूमा निराशा छाएको छ ।’
उनले सरकारले उत्पन्न गरेको निराशामै टेकेर राजावादीहरू व्यवस्थाको विरुद्धमा लागेका आरोप लगाइन् ।
प्रतिक्रिया