
डिजिटल प्रविधिका कारण रोजगारीको संख्या गुम्यो : मुख्यमन्त्री लामा


बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले रोजगारी सिर्जनाका लागि उद्योग सञ्चालन गर्नुपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित वागमती प्रदेश हस्तकला सङ्घको पाँचौँ वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले बहुउद्देश्यीय उद्योगमार्फत एउटै उद्योगबाट हजारौँलाई रोजगारी सिर्जना गर्न सकिने भएकाले उद्योग ग्राम स्थापना गर्नुपर्नेमा बताए । उनले सरकारी कार्यालयहरुमा डिजिटल प्रविधिमा काम गर्दा धेरैले गर्ने काम एउटै व्यक्तिले गर्न सकिने भएकाले रोजगारीको संख्या घटेको बताए ।
काठमाडौं उपत्यकामा विभिन्न संस्कार र संस्कृतिसँग जोडिएर सञ्चालित उद्योगहरुले रोजगारी सिर्जना गरेको उनको भनाइ छ । उनले पुरातन तरिकाबाट पारिबारिक रुपमा सञ्चालित उद्योगको पुस्तान्तरण समस्या देखिएको बताए । उनले हातबाट बनेका संस्कार र संस्कृतिसँग जोडिएकाले महँगो भएपनि प्रयोग गर्ने चलन भएकाले यस्ता उद्योगहरुले राम्रो अवसर पाएको दाबी गरे ।
उनले भने, ‘उद्योगबिना रोजगारी सिर्जना हुँदैन । सरकारको रोजगारी भनेको कस्तो हुन्छ भने पहिला पहिला धेरै कर्मचारीहरु आवश्यकता पथ्र्यो । सहयोगीदेखि खरिदार बैदार आदिको आवश्यक पथ्र्यो र एउटा अधिकृतले सही गर्नुपथ्र्यो । अब प्रविधिको जमानामा एउटै अधिकृतले सबै काम गर्नसक्छ, सात जनाको काम एकै जनाले गर्नसक्छ र रोजगारी घट्छ । त्यसैले रोजगारी सिर्जना हुने ठाउँ भनेको उद्योग हो । उद्योगलाई अवसर दिन नसक्दा रोजगारी सिर्जन हुन सकेन । उपत्यकामा एउटै परिवारले जुन किसिमका कलाहरु संस्कृतिसँग जोडिएका बाउबाजेले जसरी गर्दै आयो छोरा नातिले पनि त्यसरी नै गर्दै आएर बचेको हो । तर अहिले पुस्तान्तरण गर्न गाह्रो परिरहेको छ । काठमाडौं उपत्यकाको भक्तपुर र पाटनमा हस्तकलाको बढी प्राथमिकता छ । हातले बनेका चिजहरु धेरै महँगो र त्यो लगाउने चलन छ । विदेशीहरुले हस्तकलाको उद्योगलाई प्रिभिलेज दिएको छ ।’
मुख्यमन्त्री लामाले भारतलगायत विभिन्न देशमा एउटै उद्योगबाट लाखौँको संख्यामा रोजगारी सिर्जना गरेको बताए । उनले नेपालको बजेटमा धेरै कार्यक्रम समावेश गर्दा समस्या देखिएको बताए । उनले सञ्चालित उद्योगलाई सरकारले अवसर प्रदान गर्नुपर्ने तथा उद्यमीले संरक्षण गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया