हत्या, डकैती र लुटपाटमा संलग्न गिरोहका मुख्य नाइके पक्राउ

शृङ्खलाबद्ध डकैती, लुटपाट तथा आपराधिक घटनामा संलग्न गिरोहका मुख्य नाइके बुद्धिमान तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका वडा नम्बर १९, लगनखेलबाट पक्राउ परेका ४१ वर्षीय तामाङ सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका-२, कर्थली स्थायी निवासी हुन्। प्रहरीले उनको साथबाट दुई थान मोबाइल र दुई थान सिमकार्ड बरामद गरेको छ।

अनुसन्धानका क्रममा तामाङ विभिन्न आपराधिक घटनामा संलग्न रहेको खुलेको छ। सन् २०६१ मा डलर ठगीसम्बन्धी कसुरमा काठमाडौँ प्रहरी परिसरमा मुद्दा दर्ता भई फरार रहेका उनी, सन् २०६२ मा ललितपुर प्रहरी परिसरमा डाँका चोरी मुद्दामा दोषी ठहर भई ६ वर्षको सजाय भुक्तान गरिसकेका थिए। साथै, सन् २०७८ मा बाह्रबिसे इलाका प्रहरी कार्यालयमा शान्ति सुव्यवस्था तथा नैतिकता विरूद्धको कसुरमा मुद्दा दर्ता भई सजाय भुक्तान गरिसकेको तथ्य सार्वजनिक भएको छ।

बुद्धिमान तामाङको नेतृत्वमा काभ्रेपलाञ्चोक, गुल्मी, बाग्लुङ लगायतका स्थानहरूमा विभिन्न गम्भीर आपराधिक घटनाहरू घटाइएको अनुसन्धानबाट खुलेको छ। गुल्मी मुसिकोट नगरपालिका वडा नं. ७, न्वारास्थित गंगा होटलकी सञ्चालिका ५८ वर्षीया गोपाल कुमारी शेरचनको हत्या उनी संलग्न रहेको घटनामध्ये एक हो। लुटपाटपछि हात, खुट्टा र मुख टेपले बाँधी हत्या गरिएको पाइएको छ। काभ्रेपलाञ्चोकको फस्कोटमा बिक्रम तामाङको घरमा घुस्दै हथियारको प्रयोग गरी लुटपाट गरिएको थियो। त्यस्तै, चौकोटस्थित होटलमा प्रवेश गरी नगद रु. ४०,००० लुटिएको घटनामा पनि उनी संलग्न रहेको पाइएको छ। बनेपा नगरपालिका वडा नं. ३, टनचोकस्थित लोप्चन लामाको घरमा लुटपाट तथा बनेपा नगरपालिका वडा नं. ४, रेडक्रस टोलस्थित सुकान्त बम्जनको घरमा घुस्दै सुन, नगद लुटिएको घटनामा समेत उनको संलग्नता पुष्टि भएको छ।

यस घटनामा संलग्न रहेका बुद्धिमान तामाङका सहोदर दाजु विर बहादुर तामाङ, उदयपुरका राजु कुमार दनुवार र ओखलढुंगाका महेश कुमार खड्कालाई विभिन्न मितिमा पक्राउ गरी सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।

यसैबीच, बुद्धिमान तामाङका कान्छा भाइ शिव कुमार तामाङ गुल्मी हत्या प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेको खुलेको छ। पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर