
जनताको आक्रोशलाई नजरअन्दाज गर्न मिल्दैन, असन्तुष्ट पक्षसँग संवाद गरौं : गगन थापा


नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको आक्रोशलाई नजरअन्दाज गर्न नमिल्ने उल्लेख गर्दै असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहंकार कसैले पनि राख्न नहुने उल्लेख गरे ।
उनले वर्तमान सरकार गठन भएपछि मात्र जनता आक्रोशित भएको प्रतिपक्षीको आरोपको समेत खण्डन गरे । उनले संविधान जारी भएपछि सबैभन्दा बढी समय नेकपा (माओवादी केन्द्र) नै सरकारमा रहेको उल्लेख गर्दै यसको मुख्य जिम्मेवार माओवादी भएको जिकिर गरे ।
उनले भने ‘जनता असन्तुष्ट छन् । असन्तुष्ट भएका जनतामा आक्रोश छ । आक्रोशलाई नजरअन्दाज गर्नुहुँदैन भन्ने कुरा म पनि मान्दछु । केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार कसैले पनि राख्नुहुँदैन । जसले व्यवस्था परिवर्तनको लागि हामीलाई साथ दियो । जो आज हामीसँग असन्तुष्ट छ, जो रिसाएको छ उनीहरूसँग संवाद गर्नुपर्छ भन्ने ठान्दछु । तर वर्तमान सरकार आएसँगै उनीहरु रिसाएका हुन भन्ने कुरामा चाहिँ कतै पनि चित्त बुझाउने ठाउँ छैन ।’
उनले व्यवस्थाको सुदृढीकरणका लागि संविधानका पक्षधरहरूबिच समझदारी हुन आवश्यक रहेको समेत बताए ।
प्रतिक्रिया