प्रहरी महानिरीक्षक कुँवरले गरे रौतहटमा नवनिर्मित भवनको उद्घाटन

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवन तथा अन्य भौतिक संरचनाहरूको उद्घाटन गरेका छन् ।

सोमबार एक विशेष समारोहका बीच प्रहरी महानिरीक्षक कुँवरले कार्यालयको प्रशासनिक भवनसहित विभिन्न पूर्वाधारहरूको उद्घाटन गरेका हुन् ।

महानिरीक्षक कुँवरले जिल्ला प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवन, ब्यारेक, हिरासत कक्ष, सैलुन, चमेना गृह तथा स्वागत कक्षको उद्घाटन गरे ।

प्रहरी सेवाको प्रभावकारिता बढाउन र प्रहरी कर्मचारीलाई सहज वातावरण प्रदान गर्नका लागि अत्याधुनिक सुविधासहितका यी संरचनाहरू निर्माण गरिएको बताइएको छ ।

भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कुवरले प्रहरी सङ्गठनको सुदृढीकरणमा भौतिक पूर्वाधारको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै नागरिकमैत्री सेवा प्रवाहमा तीव्रता ल्याउन निर्देशन दिए ।

उनले प्रहरी सेवाको आधुनिकीकरणसँगै समुदाय प्रहरी साझेदारीलाई प्रभावकारी बनाउनु आवश्यक रहेको बताए ।

साथै आइजिपी कुँवरले प्रहरी कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका छन् । हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणका लागि वृक्षारोपण कार्यक्रमलाई प्रहरी संगठनले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले प्रहरी कार्यालय परिसरलाई हरित क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको बताए ।

यस्तै मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी लालमणि आचार्यले नयाँ संरचनाहरूको निर्माणले प्रहरी सेवाको प्रभावकारिता वृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।

उद्घाटन समारोहको सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरीक्षक दिलीप घिमिरेले रौतहट जिल्लामा अपराध न्यूनीकरणमा रौतहट प्रहरीले विगतको तुलनामा समग्र अपराधको घटनामा ३० प्रतिशतले कमी आएको महानिरीक्षक कुवर समक्ष जाहेर गरे ।

उपरीक्षक घिमिरेले रौतहटमा गरिब पीडितलाई निःशुल्क निवेदन लेख्ने व्यवस्था मिलाइएको, नागरिकका सहयोग हुने हिसाबले नागरिक सहायता टेबुल,भिक्टिम रेस्पोन्स टिमदेखि प्रहरी प्रमुख संग सिधा सम्पर्क गरि आफ्नो कुरा राख्न सहज हुने गरि वातावरण मिलाइएको बताए ।

उद्घाटन कार्यक्रममा स्थानीय प्रशासन, जनप्रतिनिधिहरू, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *