
विमानस्थलको मुख्य गेट अगाडि राजावादीको प्रदर्शन

पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर प्रदर्शन सुरू गरेका छन् ।
पूर्वराजाको स्वागतमा विमानस्थलमा पुगेका समर्थकहरूले प्रदर्शन थालेका हुन् । उनीहरूले राजतन्त्र पुर्नस्थापनाको माग गरिरहेका छन् । पूर्वराजा शाह दिउँसो ३ बजे पोखराबाट काठमाडौँ फर्किदै छन् ।
समर्थकहरुको भिड बढ्दै जान थालेपछि सुरक्षाकर्मीहरुको तैनाथी बढाइएको छ । विमानस्थलको मुख्य गेट अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ । राजावादीहरु राष्ट्रिय झण्डा र पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो अंकित ब्यानरसहित भेला भएका छन् । पूर्वराजा शाह पोखराको एक हप्ता बसाइँपछि आज हवाईमार्ग हुँदै काठमाडौं आउँदैछन् । उनलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल र ज्ञानेन्द्र शाह समर्थित विभिन्न संघसंस्थाहरु विमानस्थलको गेटसम्म पुगेका हुन् ।
उनीहरुलाई चक्रपथ सडकबाट विमानस्थलको मुख्य गेटभित्र प्रवेश गर्न भने प्रहरीले रोकेको छ । काम विशेषले विमानस्थलसम्म जानेहरुलाई पनि प्रहरीले सोधपुछ र चेकजाँच गरेर मात्र मुख्य गेटबाट प्रवेश गर्न दिएको छ ।राजावादीहरु विमानस्थलको गोल्डेन गेट अगाडिबाट स्वागत गरेर महाराजगञ्जस्थित निर्मल निवाससम्म नारा जुलुससहित पुर्याउने भनेर भेला भएका छन् ।
राजावादीहरुको स्वागतमा विभिन्न दल र समूहहरु सडकमा उत्रिने भएपछि काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरुलाई ‘हाई अलर्ट’ मा राखिएको छ । शाह विमानस्थलबाट निर्मल निवास फर्किने रुटमा सुरक्षा सतर्कता बढाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले बताएका छन् ।
शाहको आवागमन हुने दुवै विमानस्थलमा पनि सुरक्षा सतर्कता बढाइएको छ । पोखरा विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा कडाइ गरिएको छ।उपत्यका प्रहरी कार्यालयले सुरक्षाका लागि थप १,४४६ जना प्रहरी थप गरेको छ । यसअघि नियमित डिउटी गर्नेबाहेक विभिन्न गण तथा गुल्मबाट थप प्रहरी झिकाइएको एसएसपी खनालले जानकारी दिए ।
प्रतिक्रिया