महिलालाई अधिकारसहितको स्थान दिनेमा नेपाल अगाडि : देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महिलालाई राज्यका विभिन्न अङ्गमा अधिकारसहित स्थान दिने क्षेत्रमा नेपाल अगाडि रहेको बताएका छन् ।

शनिवार ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले राज्यका महत्वपूर्ण पदमा महिलालाई अनिवार्य स्थान दिने बाध्यकारी व्यवस्था अन्य देशमा नभएको जिकिर गरे । उनले सभामुख र उपसभामुख तथा स्थानीय तहका प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिलाको अनिवार्य व्यवस्था गरेर स्थानसहित अधिकार दिएको बताए ।

उनले राज्यका महत्वपूर्ण स्थानमा जिम्मेवारी लिने कार्यमा महिलाहरूले थप आत्मविश्वासका साथ अग्रसर हुनुपर्नेमा जोड दिए ।

उनले भने ‘महिलाको उत्थान मात्र होइन अधिकार दिने मात्र होइन महत्वपूर्ण जिम्मेवारी दिने काममा पनि नेपाल अगाडि बढिरहेको छ । अहिले हरेक पालिकाहरूमा अनिवार्य रुपमा एक जना महिला राखेका छौँ । उपसभामुख, राष्ट्रपति उपराष्ट्रपतिमा पनि महिलालाई पु¥याइ सकेका छौँ । देशभर महिलालाई अधिकारसहित स्थान दिएका छौँ । भोलिका दिनहरूमा पनि महिलाहरूले अझ बढी जिम्मेवारी लिने विश्वास लिएको छु । त्यसका लागि महिला विभाग, महिला संघलगायत सम्पूर्ण दिदीबहिनीहरूले एकताबद्ध भएर काम गर्नुस् । हाम्रो देश महिलालाई अधिकार दिने कुरामा अगाडि छ, कुनै पदको दुई जनामध्ये एक जना महिला अनिवार्य हुनैपर्ने बाध्यता नेपालमा मात्रै छ अरु कुनै देशमा पनि यस्तो व्यवस्था वा बाध्यता छैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले घरपरिवार, समाज र राजनीतिको काम गर्न महिलाले धेरै समय खर्च गर्नुपरेको बताए । उनले राज्यका विभिन्न पदमा महिलाको उपस्थिति अनिवार्य गरिए जस्तै घरायसी कार्यमा महिला र पुरुषले काम गर्ने वातावरण बिस्तारै बन्ने आशय व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *