
प्रहरी महानिरीक्षक कुँवर र यूएन प्रहरी आयुक्तबीच शिष्टाचार भेट


नेपाल प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र संयुक्त राष्ट्रसंघ प्रहरी विभागका प्रमुख फैसल शाहकरबीच नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा शिष्टाचार भेटघाट भएको छ।
भेटका क्रममा आपसी सहयोग, सूचना आदान-प्रदान तथा समन्वयका विषयमा छलफल भएको थियो। उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) दान बहादुर कार्कीले नेपाल प्रहरीको संगठनात्मक संरचना, इतिहास, कार्यक्षेत्र, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता तथा अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबारे प्रस्तुतीकरण गरेका थिए ।
संयुक्त राष्ट्रसंघ प्रहरी प्रमुख शाहकर र छनोट तथा भर्ती शाखाका प्रमुख आटा येनिगुनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीको भूमिकाको प्रशंसा गर्दै भविष्यमा थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
चार दिने नेपाल भ्रमणका क्रममा युएन प्रतिनिधि मण्डलले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनको अवलोकन गर्ने कार्यक्रम रहेको छ। टोली विशेष गरी नेपाल प्रहरीको तालिम केन्द्रहरूको अध्ययन तथा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनसम्बन्धी विषयमा केन्द्रित रहनेछ।
टोली नेपाल आइपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुवेर कडायत नेतृत्वको टोलीले स्वागत गरेको थियो।
प्रतिक्रिया