बिष्फोटक पदार्थसहित एकजना पक्राउ

मकवानपुर प्रहरीले बिष्फोटक पदार्थसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले हेटौंडा उपमहानगरपालिका–३, बसामाडी प्रहरी चौकी अगाडिको सडकखण्डमा शंका लागेका एक व्यक्तिलाई जाँच गर्ने क्रममा ठूलो परिमाणमा बिष्फोटक पदार्थ फेला पारेको हो।

प्रहरीका अनुसार, बस्तीपुरबाट हेटौंडातर्फ गइरहेको ना ८ ख ४२१४ नम्बरको यात्रुवाहक बसमा सवार हेटौंडा–१९ निवासी ४३ वर्षीय अमृत घलानलाई शंका लागी खानतलासी गर्दा उनले बोकेको झोलाबाट विभिन्न प्रकारका बिष्फोटक पदार्थ बरामद गरिएको हो।

बरामद सामग्रीमा ९० प्रिमियर ३२ एमएम विस्फोटक पदार्थ श्रेणी-२ लेखिएको पदार्थ,नियोगेल-९०१, क्याप संवेदनशील इमल्सन विस्फोटक पदार्थ लेखिएको सुन्तला रंगको प्लास्टिकमा रहेको गिलो पदार्थ, डेटोनेटर, तथा डेटकोर्ड जस्तो देखिने तारहरू फेला परेको प्रहरीले जनाएको छ।

हाल घलानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट बिष्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *