‘सरकार संकटका पोका बोकेर हिँडेको छ, अध्यादेश पनि त्यसकै उदाहरण हो’

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाउँदै त्यसको एउटा पोको भर्खरै जारी गरिएका अध्यादेश भएको टिप्पणी गरेका छन् ।

मंगलवार नेपाल प्रेस संगठनले धनुषामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो बताएका हुन् । उनले अध्योदश ल्याउनुपर्ने के जरुरी अवस्था आईपर्यो ? भनेर प्रश्न समेत गरे । उनले संवैधानिक व्यवस्थाअनुसार कुनैपनि कानुनहरू सामान्य रुपमा बनाउन सकिने उल्लेख गर्दै उनले सामान्य रुपमा कानुन बनाउने कुरामा कसैको पनि अवरोध नगरेको उल्लेख गरे ।

उनले सरकारले अध्यादेश ल्याउनुको औचित्य पुष्टि गर्न नसकेको उनको भनाइ छ । उनले अध्यादेश ल्याउनुपर्ने प्रक्रिया नमिलेकै कारण आफ्नो पार्टी अध्यादेशको समर्थन गर्न नसक्ने बताए ।

उनले भने ‘अहिले जुन सरकार छ, झन्डै दुई तिहाईको सरकार भारी बर्कम सरकार भएपनि अनेक संकट पोका बोकेर हिँडेको छ । त्यसमध्येको एउटा पोको अहिले भर्खरै जारी गरिएको अध्यादेश पनि हो । अध्यादेश ल्याउनुपर्ने के जरुरत छ यो मुलुकमा ? जब कि संविधान अनुरूप कुनैपनि ऐनहरू सामान्य रूपले बनाउन सकिन्छ । सामान्य प्रक्रियाबाट ऐन बनाउने कुरामा कसैले पनि अवरोध गरेको छैन । यो अवरोध नै नभएको बेलामा अध्यादेश ल्याउनुपर्ने कुनै आवश्यकता नै होइन । अध्यादेशहरू तत्काल कानुन बनाउन नसकेको विशेष अवस्थामा ल्याइने चिज हो । त्यस्तो के विशेष अवस्था छ त अहिले नेपालमा ? त्यो त सरकारले कुनै परिभाषित गर्न सकेको पनि छैन । त्यसकारण यसको प्रक्रियाकै हिसाबले पनि हाम्रो पार्टी, हाम्रो पार्टीको संसदीय दलले यस अध्यादेशलाई समर्थन गर्न सक्दैन ।’

उनले वर्तमान सरकारकै कमजोरीको कारण युवा पलायन बढिरहेको बताए । उनले वर्तमान सरकारले मान्छे बेच्नको लागि ठाउँ ठाउँमा मेनपावर कम्पनी खोलेर बसेको गम्भीर आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर