
समाजलाई बदल्न विद्रोह जरुरी : शंकर पोखरेल


नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजलाई बदल्न विद्रोह जरुरी रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अनुशासित विद्रोहको प्रतिनिधि पात्र प्रधानमन्त्री केपी शर्मा ओली भएको बताए । उनले प्रधानमन्त्री ओली आन्दोलनभित्र फरक मत लिएर लामो समय रहेको भएपनि पार्टीका सीमाहरूलाई कहिल्यै उल्लंघन नगरेको पात्रका रुपमा चित्रण गरे ।
सीमामा रहेर अघि बढ्यो भने उपलब्धि हासिल हुनसक्ने कुरा उनको जीवनीबाट लिन सकिने बताए । उनले प्रधानमन्त्री ओलीमाथि किन घेराबन्दी भइरहेको छ भन्नेकुराको विमर्श गर्न जरुरी रहेको बताए । प्रधानमन्त्री ओली नेपाली समाजमा सबैभन्दा बढी खोजिने पात्र रहेको बताए ।
महासचिव पोखरेलले भने ‘समाजलाई बदल्नु छ भने विद्रोह त गर्नैपर्छ । तर अनुशासित विद्रोहको प्रतिनिधि पात्र हो भन्ने म ठान्दछु । लामो समय उहाँ आन्दोलनभित्र फरक मतमा रहनुभयो तर पार्टीका सीमाहरूलाई कहिल्यै उल्लंघन गर्नुभएन । त्यही भएर उहाँ अहिले पार्टीको शीर्ष स्थानमा हुनुहुन्छ । दिशा बदल्न चाहनेहरू, विद्रोह गर्न चाहनेहरूले सिक्नैपर्ने पाठ भनेको उल्लंघन गर्नु हुँदैन । सीमामा रहेर अघि बढ्यो भने उपलब्धि हासिल हुनसक्छ । सीमालाई उल्लंघन गर्नेहरू असफल भएर जान्छन् भन्नेकुरा केपी ओलीको जीवन संघर्षबाट सिक्नुपर्ने पाठ हो ।’
महासचिव पोखरेलले प्रधानमन्त्री ओली नपढेको मान्छे नभई पढ्न नपाएको मान्छे भएको बताए । ज्ञानका दृष्टिकोणले पढेका मान्छेहरू भन्दा बढी जानकारी रहेको व्यक्ति भएको बताए ।
प्रतिक्रिया