
भारतीय सेना ब्यान्डले नेपाली सेना दिवस समारोहमा उत्कृष्ट प्रस्तुति दिई फर्कियो


२६२ औं नेपाली सेना दिवस समारोहमा सहभागिता जनाउन नेपाल आएको भारतीय सेना ब्यान्ड टोली आफ्नो प्रस्तुति पूरा गरी स्वदेश फर्किएको छ।
फेब्रुअरी १९ देखि २८, २०२५ सम्म नेपालमा रहेका ३६ सदस्यीय टोलीको नेतृत्व मेजर जसकिरथ सिंह मकोल र मेजर संजय राज भुसालले गरेका थिए।
भारतीय सेना ब्यान्डले काठमाडौंको ऐतिहासिक स्थलहरू पाटन दरबार स्क्वायर र काठमाडौं दरबार स्क्वायरमा विशेष सांगीतिक प्रस्तुति दिएको थियो। ब्यान्डको आकर्षक प्रदर्शनले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। नेपाली सेना दिवस समारोहको मुख्य कार्यक्रममा ब्यान्डले दिएको प्रस्तुति विशेष रूपमा प्रशंसनीय रह्यो।
यस प्रतिष्ठित कार्यक्रममा भारतीय सेना ब्यान्डको सहभागिताले नेपाल र भारतका सेनाहरू बीचको गहिरो मित्रता र दीर्घस्थायी सम्बन्धलाई प्रतिबिम्बित गरेको देखिन्छ। नेपाली सेनाले भारतीय सेना ब्यान्डलाई सम्मानपूर्वक स्वागत गरेको थियो, जसले दुई देशका सेनाहरूबीचको सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।
द्विपक्षीय सहकार्यका रुपमा यो सांस्कृतिक आदान-प्रदान महत्वपूर्ण मानिन्छ। भारतीय सेना ब्यान्डको प्रस्तुतिले नेपाली सेना दिवस समारोहलाई अझ भव्य बनाएको र नेपाल-भारत मित्रतालाई थप बलियो बनाउन योगदान पु¥याएको नेपाली सेनाका अधिकारीहरूले बताएका छन्।
प्रतिक्रिया