सैनिक कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न

सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको सि.सं.३१ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ।

२०८१ वैशाख ३ गतेदेखि सुरु भएको उक्त तालिम सफलतापूर्वक पूरा गरेका ६७ जना अधिकृतहरू आज दीक्षित भएका छन्।

दीक्षान्त समारोहका प्रमुख अतिथि प्रधान सेनापति महारथी अशोक राज सिग्देलले तालिम सफलतापूर्वक सम्पन्न गर्ने अधिकृतहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे। कार्यक्रममा तालिममा उत्कृष्ट प्रदर्शन गर्ने सेनानी साजन सिलवाललाई सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार तथा भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल अविजीत राँयलाई सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय शिक्षार्थी अधिकृत पुरस्कार प्रदान गरिएको छ। साथै, प्रधान सेनापतिले कलेजको वार्षिक प्रकाशन ‘शिवपुरी जर्नल’ को २६ औँ संस्करण विमोचन गरे।

‘मास्टरस् इन स्ट्राटेजिक स्टडीज प्रोग्राम’ तर्फ प्रथम भएका सेनानी साजन सिलवाललाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले पुरस्कार प्रदान गरे। त्यस्तै, कमाण्डान्ट पेपर तर्फ प्रथम भएका सेनानी विवेक राई र सेनानी सिच्यान मोक्तानलाई निमित्त शिक्षाधिकृत सहायक रथी मनोज थापाले पुरस्कार वितरण गरे।

उक्त तालिममा नेपाली सेनाका ५४ जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका १/१ जना र मित्रराष्ट्र बंगलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, म्यानमार, नाइजेरिया, पाकिस्तान, संयुक्त अधिराज्य बेलायत तथा संयुक्त राज्य अमेरिकाका १० जना विदेशी अधिकृतहरू सहभागी थिए।

वि.सं. २०४९ मा स्थापना भएको सैनिक कमाण्ड तथा स्टाफ कलेजले पहिलो पटक वि.सं. २०५० मा १२ जना अधिकृतहरूको सहभागितामा कमाण्ड तथा स्टाफ तालिम सुरु गरेको थियो। सन् २०१० देखि विदेशी अधिकृतहरूलाई समेत सहभागी गराउँदै आएको यस तालिमबाट हालसम्म १,४१५ जना अधिकृतहरू प्रशिक्षित भइसकेका छन्।

कार्यक्रममा बलाध्यक्ष रथी, रथीवृन्द, पूर्व शिक्षाधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरू, रक्षा मन्त्रालयका सहसचिव, नेपालस्थित विभिन्न देशका सैनिक सहचारीहरू तथा शिक्षार्थी अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *