खानेपानी संस्थान कोमामा छ, नाफामा ल्याएरै छोड्छु : खानेपानीमन्त्री

खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै नाफामूलक कसरी बनाउने भन्नेबारेमा गम्भीर हुन आग्रह गरेका छन् ।

बिहीबार काठमाडौँ नेपाल खानेपानी संस्थानको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले घाटामा रहेको खानेपानी संस्थानलाई कसरी नाफामा ल्याउने भन्नेबारेमा सबैले गम्भीर भएर काम गर्नुपर्ने बताए ।

घाटामा रहेको संस्थानलाई नाफामा कसरी ल्याउने भन्नेबारेमा मन्त्रालय बसेर भएपनि नाफामा ल्याएरै छोड्ने प्रतिबद्धता जनाए । उनले जायज कामहरूका लागि कोमाबाट निकाल्नका लागि मन्त्रालय अघि बढ्नैपर्ने बताए । पाइप फुटेको समस्या, फोहोर पानी आएको गुनासोहरू आम नागरिकले गर्ने गरेको भएपनि समाधान हुन एक महिना लाग्ने गरेको भन्दै तत्काल समस्या समाधान गर्न संस्थानलाई निर्देशन दिए ।

कल सेन्टरको स्थापना गरेर भएपनि जनताका समस्या समयमै समाधान गर्न निर्देशन दिए । उनले सरकारले बनाएका पानी ट्याङ्कीमा नेपाल सरकार खानेपानी मन्त्रालय नलेखिएको भन्दै अबदेखि सबै खानेपानी ट्याङ्कीमा नेपाल सरकार, खानेपानी मन्त्रालय लेख्न निर्देशन दिए । खानेपानी संस्थानलाई नाफामा लैजान गेम चेन्जर कार्यक्रमहरू ल्याउनुपर्ने बताए ।

मन्त्री यादवले भने ‘खानेपानी संस्थान कसरी अघि बढ्छ भन्ने चिन्ता छ । घाटामा रहेको संस्थान नाफामा कसरी आउँछ रु धेरै जसो शाखाहरू घाटामा नै छ । यो सेवाको भावनाले चलेको संस्थान भएको हुनाले र खानेपानी यस्तो महत्त्वपूर्ण कुरा हो । घाटामा रहेर पनि सञ्चालनमा राख्नुपर्छ । यसलाई मुनाफामा कसरी ल्याउने त्यसमा विचार गर्नुपर्छ । नागरिकबाट मासिक सेवा सुविधा त लिइराख्नुभएको छ । तर कसरी संस्था नोक्सानमा गयो । कसको कारणले गयो रु त्यसकारणले गर्दा संस्थाप्रति इमानदार भइदिन आग्रह गर्दछु । संस्था रहे मात्रै तपाईँ हाम्रो भविष्य छ । धेरै ठाउँमा पाइप फुटेको, फोहोर पानी गएको गुनासो आइरहेको छ । कसरी निगरानी, जनताको गुनासो कसरी सुन्ने, कल सेन्टर राखेर अघि बढ्नुपर्छ तर त्यो देखिरहेको छैन । जानकारी गराउँदा पनि एक महिनासम्म कर्मचारी पुग्दैनन् । यसमा ध्यान जाओस् । नेपाल खानेपानी संस्थान ३६ औँ वार्षिकोत्सव मनाउँदाको मितिमा संस्था कोमामा छ । कोमाबाट कसरी निकाल्ने, यसमा हामी सबैको ध्यान जान जरुरी छ । १० महिनादेखि निमित्त जिएममा चलेको थियो, आज पूर्णता दिइसकेका छौँ ।’

खानेपानी महसुलमा पुनः विचार गर्नुपर्नेछ : मन्त्री यादव

मन्त्री यादवले खानेपानी सेवा महसुल दरमा पुनः विचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले पानीको गुणस्तर र परिमाणमा वृद्धि गर्ने, खानेपानी महसुल समयानुसार समयानुकूल गर्ने अहिलेको आवश्यकता रहेको बताए ।

मन्त्री यादवले भने ‘नेपाल खानेपानी संस्थान करिब ११ वर्ष पहिला निर्धारण भएको खानेपानी सेवा महसुल दरमै चलिरहेको छ । बिजुली त पक्कै फ्रि छैन होला । फ्रि छैन भने महसुलमा पनि हामीले विचार गर्नुपर्छ । अब नियमावली पनि आइसकेको छ । त्यसले तपाईँहरूको लागि धेरै चिज बाधाहरू हटेको छ । महसुलमा पनि पुनः विचार गर्नुपर्छ । त्यसको लागि हामीले छलफल चाँडै गर्नेछौँ । पानीको गुणस्तर र परिमाणमा वृद्धि गर्ने, खानेपानी महसुल समयानुसार समयानुकूल गर्ने अहिलेको आवश्यकता पनि हो । यसलाई हामीले आपसमा छलफल गरेर अघि बढ्नुपर्ने छ ।’

मन्त्री यादवले मुलुक बचाउन सबै मिल्नुपर्ने बताए । उनले वैशाखभित्रमा झुम्सा खोलाको पानी बुटवलमा ल्याइसक्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *