
महाशिवरात्रीमा सशस्त्र प्रहरीद्वारा स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित १३०० जनशक्ति परिचालन


महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा लाग्ने मेलामा सुरक्षा व्यवस्थाका लागि सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब १३०० सुरक्षाकर्मी परिचालन गरेको छ।
महाशिवरात्रीका दिन स्वदेश तथा विदेशबाट पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूलाई सहज र सुरक्षित वातावरण प्रदान गर्न सशस्त्र प्रहरी बल नेपालले नं. २० विपद् उद्धार गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक शैलेश श्रेष्ठको कमान्डमा सुरक्षा बल परिचालन गरेको छ। सुरक्षा व्यवस्था फागुन १३ गते बिहान १० बजेबाट लागू गरिएको छ भने मेलाको ओभरअल कमान्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंले गर्नेछ।
महाशिवरात्रीको दिन उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयबाट एक सिफ्टमा ३०० भन्दा बढी सुरक्षाकर्मी तैनाथ हुनेछन्। भक्तजनहरूको सुरक्षाका लागि मन्दिर क्षेत्रका संवेदनशील स्थानहरूमा सशस्त्र प्रहरी बलको उपस्थिति रहनेछ। साथै, सम्भावित आपराधिक गतिविधि न्यूनीकरण गर्न सादा पोशाकमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ।
सादा पोशाकका सुरक्षाकर्मीले मेलास्थलमा हुने गतिविधिहरूको सूक्ष्म रूपमा अनुगमन गर्नेछन्। त्यस्तै, आवश्यक परेमा थप सुरक्षा व्यवस्था गर्नका लागि नं. १९ बगलामुखी विशेष कार्यदल गणको तीन प्लाटुन सुरक्षा फौजलाई तयारी अवस्थामा राखिएको छ।
मेला अवधिभर भक्तजनहरूलाई सहजता प्रदान गर्न सशस्त्र प्रहरी बल नेपालले खानेपानी तथा घुम्ती शौचालयको व्यवस्था गरेको छ।
यसका साथै, नेपाल एपीएफ अस्पतालका स्वास्थ्यकर्मीसमेत संलग्न विशेष हेल्थ डेस्क स्थापना गरिएको छ। उक्त हेल्थ डेस्कमा ४ जना चिकित्सकसहित २५ जना स्वास्थ्यकर्मी खटिएका छन्, जसले भक्तजनहरूलाई स्वास्थ्य सेवा प्रदान गर्नेछन्।
त्यस्तै, नं. २० विपद् उद्धार गणमा विपद् व्यवस्थापन तालिम प्राप्त १५ जनाको टोली आवश्यक सामग्रीसहित आपत्कालीन अवस्थामा तत्काल परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राखिएको छ।
प्रतिक्रिया