परराष्ट्रमन्त्री डा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री डा देउवा र स्विस विदेशमन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो ।

भेटका अवसरमा उनीहरूबिच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो ।

भेटमा मन्त्री डा देउवाले आर्थिक, सामाजिक क्षेत्रका साथै नेपालको शान्ति प्रक्रियामा स्वीस् सरकारको सहयोग र सद्भावका लागि धन्यवाद ज्ञापन गरिन् ।

उनले नेपालले सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद् सदस्य, सन् २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद्को सदस्य एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले यसमा सहयोगका लागि स्वीस् सरकारलाई पनि आग्रह गरिन् ।

साथै उनले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य विषय बनाएर सगरमाथा संवाद कार्यक्रम आयोजना गरेकाले सहभागिताका लागि स्वीस् सरकारलाई पनि आमन्त्रण गरिन् ।

मन्त्री डा देउवाले नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुने चरणमा रहेकाले आवश्यक सहयोगसहित दिगो विकास लक्ष्य हासिल गर्न नेपाललाई आवश्यक पर्न सक्ने सहयोगका लागि पनि आग्रह गरिन् ।

उनले जलवायु परिवर्तनले नेपालमा परेको असरबारे अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायका लागि नेपालले वकालत गरिरहेकाले त्यसमा स्वीस् सरकारबाट सहयोग अपिल गरेको मन्त्री डा देउवाको सचिवालयले जनाएको छ ।

भेटवार्तामा संयुक्त राष्ट्रसङ्घका लागि जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलगायत पनि उपस्थित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर