प्रधानमन्त्री ओली संसद विघटन गर्न अग्रसर रहेको माओवादी केन्द्रको आरोप

माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्न लागि परेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन प्रेस सेन्टरको अधिवेशनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले आफू सभामुख हुँदा प्रधानमन्त्री ओलीले दुई पटक संसद विघटन गरेको बताए । उनले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने र बहुमत ल्याउने केपी ओलीको चाहना पूरा नहुने बताए ।

उनले सरकारले अध्यादेश ल्याएर संसदको अपमान गर्न खोजेपनि सरकार अध्यादेशको पासोमा परेको दाबी गरे ।

उनले भने ‘अझैपनि ठूला ठूला घटना घटाउन सक्छन् यिनीहरूले । फेरि म जोड दिएर भन्छु कि पहिला म सभामुख भएको बेलामा दुई पटकसम्म सदन विघटन गरेको थियो । आज पनि त्यतैतिर उद्यत छ यो सरकार र यो सरकारका प्रधानमन्त्री । झम्टी झम्टी दुई चोटि विघटन गरेको यो अध्यादेशका कुरा यो सबै फेरि पनि उहाँलाई के लागेको छ भने सदन विघटन गरेर चुनावमा गएँ भने मैले बहुमत ल्याउँछु भन्ने लाग्छ, बहुमत त हजार कोष टाढाको कुरा भयो तर उनलाई त्यो लागिरहेको छ र सदन विघटन गर्नेतिर नै उद्यत भइरहेका छन् ।’

उपाध्यक्ष सापकोटाले जनताको आवाज मुखरित गर्ने संसद विगत २३ दिनदेखि सरकारले कामविहीन भएको लज्जास्पद अवस्था बनाएको आरोप लगाए । उनले विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत तथा सुशासन पक्षमा काम गर्ने कर्मचारीलाई सरकारले प्रताडना दिई हटाउन खोजेको तर जनताको साथ भएकाले सरकार पछि हटेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *