
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप तीन हवाई कम्पनी भित्रिँदै


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर थप तीन वटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले नियमित उडान गर्ने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर इन्डिया एक्सप्रेस, स्पाइस जेट र आकाशा एयरले काठमाडौँमा नियमित व्यावसायिक उडानको तयारी थालेका हुन् ।
एयर इन्डिया एक्सप्रेसले फागुन १७ देखि र स्पाइस जेटले फागुन २८ देखि काठमाडौँमा नियमित उडान सुरु गर्ने छन् ।
प्राधिकरणका अनुसार हाल नेपालमा १५ देशका २८ हवाई कम्पनी (तीन नेपाली कम्पनीसहित) ले अन्तर्राष्ट्रिय उडान सेवा दिँदै आएका छन् । आकाशा एयरले अनुमति पाएसँगै नेपालमा हवाई सेवा दिने वायु सेवा कम्पनीको सङ्ख्या ३१ पुग्ने प्राधिकरणले जनाएको छ । हाल नेपालमा अन्तर्राष्ट्रियतर्फ सबैभन्दा बढी चिनियाँ स्वामित्वका एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउथर्न एयरलाइन्स र सिचुवान एयरलाइन्स गरी चार वटा कम्पनीका वायुयानले उडान भर्दै आएका छन् ।
प्रतिक्रिया