
विद्यार्थीको विदेश मोह, बिरानो बन्दै स्वदेशी विश्वविद्यालय


छिमेकी मुलुक भारतका विश्वविद्यालय तथा शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको घुइँचो लागिरहँदा नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाइरहेका छन् ।
पछिल्लो पटक सार्वजनिक भएको विवरण अनुसार भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (किट) विश्वविद्यालयमा मात्रै एक हजार पाँच सय जनासम्म नेपाली विद्यार्थीले अध्ययन गरिरहेको बताइएको छ तर नेपालमा सञ्चालित विश्वविद्यालयमध्ये केहीमा भने मुस्किलले पाँच सय विद्यार्थीले मात्रै अध्ययन गरिरहेको सरकारी तथ्याङ्कले नै देखाएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार राजर्षिजनक विश्वविद्यालयमा जम्मा ५२७ जना मात्रै विद्यार्थी छन् । अझ मदन भण्डारी विज्ञान तथा प्राविधिक विश्वविद्यालयमा त जम्मा १५ जना मात्रै विद्यार्थी पढ्छन् । यद्यपि सूचना प्रविधिको क्षेत्रमा खपत हुने उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने हुनाले यस विश्वविद्यालयमा सबै प्रकारका विद्यार्थीले भर्ना पाउँदैनन् ।
आयोगका अनुसार नेपाल खुला विश्वविद्यालयमा एक हजार ६३४, लुम्बिनी बौद्ध विश्वविद्यालयमा एक हजार ८३२ जना विद्यार्थी अध्ययनरत छन् । प्रादेशिक विश्वविद्यालयको अवस्था पनि दयनीय नै छ । यहाँका विश्वविद्यालयमा समयमा पढाइ नसकिनु, परीक्षा भए पनि नतिजा समयमा नआउनु तथा समयको माग अनुसार पाठ्यक्रममा परिवर्तन नहुनु जस्ता कारणले विद्यार्थीलाई आकर्षित गरेर टिकाउन नसकिएको शिक्षाविद्को भनाइ छ । गोरखापत्र दैनिकमा सूर्यप्रसाद पाण्डेले समाचार लेखेका छन् ।
प्रतिक्रिया