
उडिसा घटनाबारे परराष्ट्र मन्त्री राणा र भारतीय मन्त्रीबीच फोनवार्ता


परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा उडिसाका उच्च शिक्षा मन्त्रीसँग टेलिफोनमा कुराकानी गरेकी छन् ।
मन्त्री राणाले उडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छन् ।
सो फोनवार्ताका क्रममा भारतीय मन्त्री सुरजले उक्त घटनालाई उडिसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराएका थिए ।
उनले त्यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरूलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरूलाई होस्टेलमा फर्काएर पठनपाठनको व्यवस्था मिलाइएको बताए ।
मन्त्री सुरजले कलेजमा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको र नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा होस्टेलमा रहेर पठनपाठन गर्न सक्ने गरी सुरक्षाको प्रबन्ध गरिएको जानकारी दिएका छन् ।
प्रतिक्रिया