
पार्टीको अधिवेशनको समय थपिन्छ, नेतृत्वका लागि अरूभन्दा कम योग्य छैन : प्रवक्ता महत


नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन्।
शनिबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले समयमै अधिवेशन नहुने कुरा त्यसको तयारी र अवस्थाले देखाइरहेको पनि स्पष्ट पारे। उनले पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने नरहेको र डेढ वर्षसम्म थप्न मिल्ने कुरा विधानमा रहेको उल्लेख गरे। उनले तर कति थपिन्छ वा थपिँदैन भन्ने कुरा केन्द्रीय समितिको बैठकले गर्ने बताए।
उनले भने, ‘पार्टीको अधिवेशन चार वर्षमै हुनुपर्छ भन्ने छैन। विधानमै अर्को डेढ वर्षसम्म थप्न मिल्ने व्यवस्था छ। विधानमा पहिला एक वर्ष र त्यसपछि अर्को ६ महिनासम्म थप्न पाउने व्यवस्था छ। तर कति थपिन्छ थपिँदैन भन्ने कुरा केन्द्रीय समितिले निर्णय गर्छ। तर थपिन्छ भन्ने कुरामा परिस्थितिले, तयारीले थपिने कुरामा शंका छैन।’
प्रवक्ता महतले नेतृत्वको दौडका लागि आजकै मितिदेखि दौड लगाउनुपर्ने पक्षमा आफू नरहेको बताए। अहिले पार्टीलाई निर्माण गर्न, एकअर्कालाई स्वीकार गर्ने कुरामा दौड लगाउनु उचित हुने उनको भनाइ छ। उनले पार्टी नेतृत्वका लागि अरूभन्दा कमजोर आफू नरहेको पनि स्पष्ट पारे।
‘नेतृत्वको दौडमा आजकै मितिदेखि दौड लगाउनुपर्छ भन्ने म त्यसको पक्षपाती छैन। अहिले पार्टी निर्माणमा दौड लगाउनु पर्छ। पार्टी युनिफाइ गर्न दौड लगाउनुपर्छ। योग्यतको प्रश्न छ, अहिले देखिएका जति पनि साथीभाइहरू म म भनेर हिँड्नुभएको छ। उनीहरूभन्दा कुनै पनि कोणबाट, कुनै पनि पृष्ठभूमिबाट मैले आफूलाई ठानेको छैन,’ उनले भने।
सांसद महतले सरकारले ल्याएको विधेयकमा भूमिसम्बन्धी विधेयकबारे मात्रै प्रतिपक्ष दलहरूले आपत्ति जनाएको भन्दै त्यसलाई सरकारले प्रतिस्थापन विधेयकमार्फत समाधान गर्न सकिने बताए।
प्रतिक्रिया