
अर्थसचिव उपाध्यायलाई स्वागतसँगै डा. घिमिरेको बिदाइ


अर्थ मन्त्रालयको नयाँ सचिवका रूपमा घनश्याम उपाध्यायले पदभार ग्रहण गरेका छन्।
मन्त्रालयमा आयोजित विशेष समारोहमा उपाध्यायलाई स्वागत गरिनुका साथै हालैसम्म अर्थ सचिव रहेका डा.रामप्रसाद घिमिरेलाई औपचारिक रूपमा बिदाइ गरिएको छ।
सरकारको हिजो बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई अर्थ सचिवमा नियुक्त गर्दै डा. घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार उपाध्यायले जिम्मेवारी सम्हाल्दै मन्त्रालयका प्राथमिकताहरूबारे प्रतिबद्धता व्यक्त गरे।
नवनियुक्त अर्थ सचिव उपाध्यायले सरकारको विश्वासप्रति आभार व्यक्त गर्दै राजस्व वृद्धि, पूँजीगत खर्च प्रवर्द्धन, अनावश्यक खर्च नियन्त्रण, उत्पादन वृद्धि तथा लगानीमैत्री वातावरण सिर्जना गर्न आफ्नो नेतृत्व सक्रिय रहने बताए।
त्यसैगरी, निवर्तमान सचिव डा.घिमिरेले सरकारको विश्वास पाएर राजस्व सचिव र अर्थ सचिवका रूपमा जिम्मेवारी सम्हाल्न पाएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि नेपालको अर्थतन्त्रलाई सबल र गतिशील बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
नयाँ नेतृत्वसँगै अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका प्रमुख आर्थिक नीतिहरूलाई प्रभावकारी कार्यान्वयन गर्दै समग्र अर्थतन्त्रलाई सबल बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया