
रास्वपा प्रमुख सचेतकको आरोप- दलितलाई मान्छे हुन नदिन राज्यका संयन्त्रहरू परिचालन गरिएको छ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले दलित समुदायका नागरिकलाई मान्छे हुन नदिन राज्यका संयन्त्रहरू परिचालन गरिएको आरोप लगाएका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राज्यले संविधान विपरीत हरेक वर्ष दलित समुदायमाथि दमन र अन्याय गरिरहेको बताए ।
उनले दलितमाथि भइरहेको अत्याचार र दमन अन्त्य गर्नको लागि आवश्यक कानुन बनाउन सरकारको ध्यानाकर्षण समेत गराए । उनले व्यवस्था परिवर्तन गरेर संविधान निर्माण भइसक्दा समेत दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेकै कारण मारिनु परेको बताए । उनले दलित समुदायमाथिको निरन्तरको दमन र अन्यायका सम्बन्धमा सभामुखमार्फत सरकारको जवाफ माग गरे ।
उनले भने ‘विगत पैँतिस सय वर्षदेखि दलितहरूलाई मान्छे हुन नदिएको र गैरदलितहरुलाई चेतनशील मान्छे हुन नदिएको जात व्यवस्थाको कुरा राख्दैछु सभामुख महोदय । यो सदनमा सबै सम्मानित नेताहरू हुनुहुन्छ । मार्सवादी आन्दोलनबाट खारिएर आएका नेताहरू हुनुहुन्छ । तर यो राज्य संविधान मान्दैन । दलित समुदायलाई हरेक वर्ष घातक बनाउँछ विक्षिप्त बनाउँछ । राज्यले अन्याय गर्छ सभामुख महोदय । राजनीतिक पार्टीहरूसँग त हाम्रो विश्वास टुटिसक्यो । दलितमाथि हरेक वर्ष भइरहेको अन्याय र हत्याको विरुद्ध कानुन बनाएर ठोस कदम चाल्न म सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । हामीले व्यवस्था परिपर्वन गर्यौँ । संविधान बनायौँ तर आज दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेका कारण मारिनुपर्ने, प्रेम गरेका कारण दलितहरू घरबास उठीबास लाग्नुपर्ने अनि राज्यका संयन्त्र र संस्थानहरू र दलितलाई मान्छे हुन नदिनको लागि प्रयोग हुनुपर्ने ?’
दलितलाई मान्छे हुन नदिनको लागि राज्यका संयन्त्र र संस्थानहरू नै लागिपरेको उनको भनाइ छ ।
- परराष्ट्रमन्त्रीद्वारा ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह
- राजनीतिक अस्थिरता जनताको लागि अपाच्य : महासचिव चन्द
- ज्ञानेन्द्रलाई भिलेनको संज्ञा दिँदै प्रचण्डले भने- राजनीतिक दललाई धोका नदिएको भए राजतन्त्र टिक्न सक्थ्यो
- ७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
प्रतिक्रिया