
प्रधानमन्त्री ओलीबाट एआईजी दिपक थापालाई प्रशंसापत्र


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पुलिस क्लब परिसरमा नवनिर्मित नेपाल पुलिस क्लबको ‘द ब्लु पेभिलियन’ निर्माण सम्पन्नगर्ने तत्कालिन उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापालाई प्रशंसापत्रसहित सम्मान गरेका छन् ।
प्रधानमन्त्री ओलीले शनिवार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा निर्माण भएको ‘द ब्लु पेभिलियन’ भवनको समुद्घाटन कार्यक्रममा एआईजी थापालाई सम्मान गरेका हुन् ।
एआईजी थापाले उपत्यका प्रहरी प्रमुख र डीआईजीको कार्यकालमा प्रशासन प्रमुख रहँदा नेपाल पुलिस क्लबलाई अन्तर्राष्ट्रिय स्तरको क्लब तथा कार्यक्रम स्थलका रुपमा विकासगर्न अहम भुमिका खेलेका थिए । हाल एआईजी थापा सीआईबी प्रमुख छन् ।
प्रधानमन्त्री ओलीले सोही कार्यक्रममा नेपाल प्रहरीको विकासक्रमसँग सम्बद्ध विभिन्न ऐतिहासिक तथ्य, दस्तावेज एवम् घटनाक्रमहरूको संकलन, अध्ययन एवम् विश्लेषण गरी तयार पारिएको ‘नेपाल प्रहरीको इतिहास भाग २’ पुस्तकको समेत विमोचन गरेका छन् ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल प्रहरीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि ७४ लाख रूपैयाँको चेक प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हस्तान्तरण गरे ।
समारोहमा प्रधानमन्त्री ओलीले पुस्तक लेखनमा योगदान पुर्याउने प्राडाद्वय शंकर थापा र धनश्याम भट्टराई तथा भवन निर्माणमा योगदान पुर्याउने प्रहरी अतिरिक्त महानिरीक्षक थापा र प्रहरी वरिष्ठ उपरीक्षक ईन्जिनियर राम कुमार चौधरी समेतलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवनिर्मित भवनले प्रहरीलाई शारीरिक र मानिसक हिसाबले स्वस्थ्य र सबल बनाउँदै प्रहरीले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । प्रहरी सबल र सक्षम हुनुपर्ने बताउँदै नेपाल प्रहरीले जनताको अपेक्षा अनुरूप सेवा प्रवाह गर्नुपर्ने तथा कुनै प्रभाव, भनसुन र दबाबमा नपरी संविधान एवम् कानून बमोजिम प्रमाण र तथ्यमा आधारित भई न्यायसंगत ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले बताए।
कुल ७५ करोड ८७ लाख २९ हजार ८ सय ३० रूपैयाँ ४५ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।
प्रतिक्रिया