
विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन् : मन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको समग्र विकास गर्ने सशक्त माध्यम राजनीति भएको बताएका छन् ।
शनिवार विश्व निकेतन माध्यामिक विद्यालयको ७९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे हो भन्ने किसिमले भाष्य सिर्जना गरिएको भन्दै त्यसलाई चिर्न सक्नुपर्ने बताए । उनले अरुको लहलहैमा लाग्नु भन्दा सही र गलत छुट्याएर चुन्नुपर्ने बताए । उनले सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति भएको बताए । आफू सेवा दिनकै लागि राजनीतिमा आएको उल्लेख गरे ।
उनले विदेशमा ठूला ठूला काण्ड गरेर ठूलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको पनि बताए ।
उनले भने ‘अहिले मान्छेहरुलाई कस्तो लाग्छ भने यो राजनीति गर्ने मान्छेहरु सबै समाजको काम नलाग्ने मान्छेहरु मात्रै राजनीतिमा लाग्छ भन्नेखालको भाष्य डेभलप गर्न खोजिरहेको छ । त्यसमा तपाईंहरु सबैले के बुझ्नुपर्याे भने संसारमा पठाउँदा नै विवेक बुद्धि भगवानले दिएको छ । सही र गलत छुट्याउन कसैले भन्यो भन्दैमा त्यसैको लहलहैमा लाग्नु हुँदैन । कुनै आधार नसोचि लाग्नु हुँदैन । राजनीति क्षेत्रबाट देशको समग्र विकास गर्नसक्ने सशक्त माध्यम राजनीति हो । सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति हो । सेवा दिनकै लागि म राजनीतिमा लागेको हो । यहाँ अनेकौँ मान्छेहरु आउँछन् । चटकेहरु पनि आउँछन् । विदेशमा गएर ठूलोठूलो काण्ड गरेर नेपाल फर्किएर अनि ठूलो नेता बन्नका लागि मान्छेहरु नआएका होइनन् । आइराख्छन् । तपाईंहरु छान्ने काममा चुक्नुभयो भने हामीले प्राप्त गरेका अधिकारहरु सुरक्षित र संवद्र्धित गरेर त्यसको आधारमा लैजानुपर्छ । त्यसका लागि जनताले छानेको प्रतिनिधि हुनुपर्छ ।’
उपप्रधानमन्त्री सिंहले विद्यार्थीले मेहनतका साथ अध्ययन गर्नुपर्ने बताए ।
प्रतिक्रिया