
ब्रेक थ्रु मात्रै होइन, ब्रेक लगाइएका कामलाई थ्रु गरेका छौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा बनेको सरकारले थुप्रै कामको ब्रेक थ्रु गरेको बताएका छन् । ओलीले थालेका कामलाई सकाउन प्राथमिकतापूर्वक काम गरेको भन्दै नतिजा दिन थालेको बताए ।
‘सरकारको प्राथमिकता थालेको काम सकाउने हो । खेल हाम्रा युवाहरूको जीवनशैली बनेको छ । त्यसैले यस पटक क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेलमैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णय गरेको थियो । त्यसका लागि टेण्डर आह्वान भएको छ, तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको छ,’ ओलीले भने, ‘रंगशालाकै कुरा गर्दा सुर्खेतमा आधुनिक कर्णाली रंगशाला तयार भएको छ । देशको दुर्गम भूगोल मानिने कर्णालीमा आधुनिक रंगशाला– यो हाम्रा युवाको भविष्यका लागि सुखद सन्देश हो । विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौं ।’
ओलीले काठमाडौं–तराई द्रुत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ ब्रेक थ्रु भएको, चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडक मार्ग केही दिन अघि मात्रै ब्रेक–थ्रु भएको बताए ।
ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम यो सरकार आउँदाको बखत अलपत्र भए पनि प्रभावकारी रूपमा अगाडि बढेको उनले बताए । ‘यो सरकार आउँदा धुलो उडिरहेको मुग्लिन–पोखरा सडक आज चिल्लो र आकर्षक भएको छ,’ ओलीले भने ।
प्रतिक्रिया