
मधेसवादी राजनीतिक दलहरूद्वारा एकता र सहकार्यको लागि कार्यदल गठन


मधेसवादी राजनीतिक दलहरूले एकता र सहकार्यको लागि कार्यदल गठन गरेको छ ।
मधेसवादी आठ राजनीतिक दलहरूको बिहीबार सिंहदरबारमा बसेको बैठकले सहकार्य र एकताको वातावरण बनाउन कार्यदल गठन गर्ने निर्णय गरिएको जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
उनका अनुसार कार्यदलमा लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण, जनमत पार्टीबाट शरद सिंह यादव, जनता समाजवादी पार्टीबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट शिवजी यादव, तराई मधेस लोकतान्त्रिक पार्टीबाट श्रीबज्र किशोर सिंह रहेका छन् ।
उनले कार्यदलका लागि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्तिबाट नाम आउन बाँकी रहेको बताए । उनले अगामी दिनमा संविधान संशोधन लगायतका राष्ट्रिय मुद्दाहरूमा समान धारणा बनाउनका लागि सहकार्य गर्न कार्यदल गठन गरिएको बताए ।
उनले भने ‘हामी समान विचार बोकेका पार्टीहरू भविष्यमा समान धारणा बोकेर अगाडि जाऊँ भनेर मोर्चा, गठबन्धन वा सहकार्यको वातावरण तयार गर्ने निर्णय गरेका छौं । सोहीअनुसार आठ राजनीतिक दलका एक/एक जना नेता रहनेगरि आठ पार्टीको एउटा कार्यदल गठन गरिएको छ । सो कार्यदलमा जसपाबाट म आफैँ, लोकतान्त्रिक समाजवादी पार्टी लक्ष्मणलाल कर्ण, डा। शरद सिंह यादव जनमत पार्टीबाट, मोहम्मद इस्तियाक राई जसपाबाट गंगाराम चौधरी नागरिक उन्मुक्ति पार्टीबाट डा। शिवजी यादव जनता प्रगतिशील पार्टीबाट, श्रीबज्र किशोर सिंह तराई मधेस लोकतान्त्रिक पार्टीबाट र राजेन्द्र महतोजीले नेतृत्व गरेको राष्ट्रिय मुक्तिबाट नाम आउन बाँकी छ । यो कार्यदलले हाम्रो सहकार्यलाई अझै सुदृढ गर्न तत्पर हुनेछ । कार्यदलले गठबन्धन अथवा मोर्चाको न्वारन गर्छौं । त्यसपछि त्यसका लागि आवश्यक आचारसंहिताहरू निर्माण गर्छौं । त्यसपछि हामी समान विचारहरूको दस्ताबेज लेखन गर्छौं । अगामी बैठकको संयोजन पनि गर्छौं । समान धारणा बनाउँदै अगाडि बढ्छौँ । लक्ष्य एकता नै तर अहिले भन्न सकिन्न ।’
त्यस्तै बैठकले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशको विरोध गर्ने निर्णय समेत गरेको उनले बताए । उनले सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर मधेसी, जनजाति र आदिवासी समुदायदायकलाई विस्थापित गर्न खोजेको आरोप समेत लगाए । उनले वर्तमान सरकारले एकतन्त्रीय प्रणाली अपनाएको उल्लेख गर्दै त्यसप्रति मधेसवादी दलहरू सकारात्मक हुन नसक्ने बताए ।
उनले भने ‘सरकारले जारी गरेका पाँचवटा अध्यादेशमध्ये सबैभन्दा गम्भीर भूमिसम्बन्धी अध्यादेश भयो । जसमा सम्माननीय राष्ट्रपतिज्यूले जारी गर्दा चार वटा अध्यादेश एक पटक गर्नुभयो । भूमिसम्बन्धी अध्यादेश पछि बुझेर गर्नुभयो । त्यसप्रति हाम्रो आठ दलीय गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको छ । हामी त्यसको अध्ययन पनि गरिरहेका छौं । संसदमा पेस भएपछि हामी हाम्रो धारणा प्रस्तुत गरौँला । सामान्य रुपमा अहिले भन्ने हो भने महेन्द्रवादीय यो सोचले मधेसी, जनजाति र आदिवासी समुदायदायकलाई उसकै ठाउँबाट विस्थापित गरि आप्रवशनको नाममा फेरि अर्को एउटा महेन्द्रीय संरचना गठन गर्ने कुप्रयास रहेको छ । अध्यादेशप्रति हाम्रो विचार सकारात्मक छैन ।’
बैठकमा जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी,नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टी, तमलोपा सहभागी थिए । मधेसवादी दलहरूले सरकारले संविधान संशोधन गर्ने विषय उठाएसँगै एकताबद्ध हुन र मधेसका मुद्दाहरू एक आवाजमा उठाउन भन्दै एकताको प्रयास थालेका हुन् ।
प्रतिक्रिया