नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित

अन्तर्राष्ट्रिय महिला टी-२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ ।

नेदरल्याण्ड्सले दिएको १५८ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सिता रानामगरले सर्वाधिक २८ रन बनाइन् । ४५ बलको सामना गरेकी सिताले ३ चौका प्रहार गरिन् । त्यस्तै कविता जोशीले २७ तथा पूजा महतोले २४ रन बनाइन् ।

नेदरल्याण्ड्सका लागि इभा लिन्च र क्यारोलिन डे लाङले २/२ विकेट लिए । आइरिस विलिङ र फ्रेडरिक ओभरडाइकले १/१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि रोबिन रिकेले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ४८ बलमा ८ चौकासहित ५९ रन बनाइन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रनको फिनिसिङ पारी खेलिन् ।

नेपालका लागि कविता कुँवर, पूजा महतो, सिता राना मगर र ईश्वरी विष्टले एक/एक विकेट लिए ।

नेपालले महिला टी-२०आईमा पूरा गरेको सबैभन्दा ठुलो लक्ष्य ११६ रनको हो । यो लक्ष्य नेपालका लागि चुनौतीपूर्ण हुनेछ ।

नेपालका लागि दुई खेलाडीले डेब्यू समेत गरे । एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गरेका हुन् ।

शृङ्खलामा सबै टोलीले एक अर्कासँग ३/३ खेल खेल्ने छन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर