सहकारी ठगी प्रकरण

रवि लामिछाने १० बजे अदालत हाजिर हुने, थुनछेक बहस आजै

बुटवलको सुप्रिम सहकारीको रकम ठगी मुद्दामा अभियोग लागेका गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने बुधबार रूपन्देही जिल्ला अदालतमा हाजिर भएका छन् ।

जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बयान सकेपछि लामिछानेलाई परिवार र प्रतिवादीका वकिलको जिम्मामा रिहा गर्ने आदेश दिएको हो ।

बुधबार दिउँसो १ बजेबाट सुरु भएको बयानमा लामिछानेले अभियोग अस्वीकार गरेका थिए । उनले गोर्खा मिडियाको आर्थिक व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी कम्पनी अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको रहेको दाबी गरे । बयानको अन्त्यमा उनले अदालतलाई सहयोग गर्न आफैं उपस्थित भएको उल्लेख गर्दै आजको थुनछेक बहसका लागि जिम्मामा छोड्न अनुरोध गरेका थिए । अदालतले लामिछानेलाई आज बिहान १० बजे पुनः उपस्थित हुने सर्तमा हिरासतबाहिर रहन अनुमति दिएको हो ।

अब सरकारी वकिल पक्षबाट उच्च सरकारी वकिल कार्यालय बुटवलका सोमकान्ता भण्डारी, प्रेमराज पौडेललगायतले बहस गर्नेछन् भने प्रतिवादीतर्फ वरिष्ठ अधिवक्ता सुशील पन्त र सुरेन्द्र थापासहितका वकिल सहभागी हुनेछन् ।

जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी प्रकरणमा २२ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गरेको छ । अभियोगपत्रमा ५५ करोड ५९ लाख रुपैयाँ बिगो माग गरिएको छ। त्यसमध्ये लामिछाने, जीबी राई र पूर्व उपाध्यक्ष छविलाल जोशीसँग मात्र १० करोड ९९ लाख रुपैयाँ बिगो माग गरिएको छ ।

पहिलो चरणमा लामिछाने र जोशीबाहेकका २८ जनाविरुद्ध वैशाख २ मा मुद्दा दर्ता गरिएको थियो । दोस्रो चरणमा थप तथ्य र प्रमाण जुटाउँदै उनीहरूमाथि कसुर र बिगो थप गरिएको छ ।

यसअघि पनि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *