
रविलाई भोलि १० बजे अदालत उपस्थित हुनेगरी परिवारको जिम्मा

रुपन्देही जिल्ला अदालतले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलि (बिहीबार) उपस्थित हुने गरी श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश दिएको छ ।
भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी लामिछानेलाई श्रीमती निकिता र कानून व्यवसायीको जिम्मा लगाउन न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले आदेश दिएको अदालतका सुचना अधिकारी अनन्तराज मरासिनीले बताए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेको रुपन्देही जिल्ला अदालतमा बयान सकिएपछि अदालतले यस्तो आदेश दिएको हो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि बयानका लागि उनी आज अदालत उपस्थित भएका थिए ।
लामिछाने मंगलबार नै काठमाडौंबाट रुपन्देही पुगेका थिए । सुप्रिम सहकारी ठगीमा २२ जनालाई प्रतिवादी बनाउँदै गत आइतबार नै जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोग दर्ता भएको थियो । पूरक अभियोगमा प्रतिवादी बनाइएका २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो कायम गरिएको छ ।
यसअघि लामिछानेले कास्की पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत कास्कीमा ६५ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए ।
त्यसपछि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालतमा समेत हाजिर भएका थिए । काठमाडौंको मुद्दामा पनि उनले ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए ।
प्रतिक्रिया