निवृत्तिभरण कोषमा अब नियुक्त हुने शिक्षक मात्रै

सामुदायिक विद्यालयमा अब नियुक्त हुने शिक्षकलाई मात्रै निवृत्तिभरण कोषमा समावेश गरिने भएको छ ।

सरकारले हालै ल्याएको अध्यादेशमा निवृत्तिभरण कोषमा शिक्षक सेवालाई पनि समावेश गरेपछि शिक्षकले आपत्ति जनाएकाले सो विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट पारेको हो । सरकारले पुस २७ गते सुशासन, प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत निवृत्तिभरण कोषसम्बन्धी ऐन, २०७५ लाई अध्यादेशमार्फत संशोधन गर्दै शिक्षक सेवा थप गरेको थियो ।

उक्त अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले गत पुस २९ गते जारी गर्नुभएको थियो । निवृत्तिभरण कोष ऐन, २०७५ को दफा ९ मा सरकारी सेवामा स्थायी रूपमा नियुक्त हुने कर्मचारीलाई मात्रै योगदानको आधारमा निवृत्तिभरण प्रणालीमा समावेश गरिने भनिएको छ । जसमा सेना, प्रहरी, सशस्त्र प्रहरीलगायत सेवा समावेश भएका छन् ।

२०७५ चैतबाट उक्त ऐन लागु भएको हो । सोही मितिदेखि नियुक्त भएका शिक्षक पनि योगदानका आधारमा निवृत्तिभरणमा जानुपर्ने अवस्था आएको भन्दै शिक्षकले आपत्ति जनाएका हुन् । सोही मितिदेखि लागु हुने गरी आफूहरूलाई निवृत्तिभरण कोषमा लगिएमा सामूहिक राजीनामा दिएर आन्दोलनमा उत्रने चेतावनी शिक्षकले दिएका थिए ।

अध्यादेश आएपछि कास्कीका विभिन्न विद्यालयका ३५ जना शिक्षकले सामूहिक राजीनामा समेत दिएका थिए । आफूहरूलाई शिक्षा ऐनमार्फत सम्बोधन गर्नुपर्नेमा अध्यादेश ल्याएर अप्ठ्यारोमा पार्न खोजिएको शिक्षकले गुनासो गरेका थिए । हाल विद्यालय शिक्षा ऐन संसद्को शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने निवृत्तिभरण कोषमा पुस २९ गतेपछि नियुक्त भएका शिक्षकलाई मात्रै समावेश गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *