सरकारमा काँग्रेस-एमालेबीच कुनै समस्या छैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारमा कुनै समस्या नरहेको दाबी गरेका छन् ।

बिहीवार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग कार्यप्रगति विवरणबारे जानकारी गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए ।

उनले काँग्रेस र एमाले सम्मिलित सरकारमा कुनै बाधा, व्यवधानहरु नरहेको जिकिर गरे । उनले सभापतिसँग आफ्नो मन्त्रालयका कामहरु अझ कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको बताए ।

नेकपा एमाले र नेपाली काँग्रेसको बीचमा बनेको सात बुँदे सहमतिअनुसार अहिलेको सत्ता समीकरणलाई अघि बढाउने र राम्रो ढंगबाट जनतामा सेवा प्रवाह गर्ने विषयमा छलफल केन्द्रित रहेको बताए ।

मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्नेकुरामा केन्द्रित भएर काम गर्ने विषयमा छलफल भएको बताए । ‘नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रो बीचमा कुनै समस्या छैन । दुई दलको सम्मिलित सरकारमा कुनै बाधा, व्यवधान र अफ्ठ्याराहरु छैनन्,’ उनले भने ‘आफ्ना आफ्ना मन्त्रालयमा थप राम्रो काम कसरी गर्ने ? भन्नेकुरामा छलफल भएको छ । हामी दुई दलका बीचमा कुनै समस्या छैन भन्ने नै हाम्रो निस्कर्ष हो ।’

गृहमन्त्री लेखकले काठमाडौं जिल्ला अदालत परिसरमा बुधवार अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपात निन्दनीय भएको बताए । उनले अराजक गतिविधि गर्नेलाई कारबाही हुने बताए ।

उनले नेपालमा व्यवसायिक स्वतन्त्रता रहेको बताए । बुधवार स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएपछि बाहिर निस्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो । ‘जोसुकैले गरेपनि यो देशमा लोकतन्त्र छ । व्यवसायिक स्वतन्त्रता छ । मानिसले आफ्नो आफ्नो व्यवसाय गर्न पाउँछ । वकीलले वकालत गर्न पाउँछ, डाक्टरले डाक्टरको काम गर्न पाउँछ । बिजनेसम्यानले व्यापार गर्न पाउँछ,’ उनले भने ‘त्यसमा बाधा, व्यवधान गर्ने, उश्रृंखलता गर्ने, अराजकता गर्ने, कानून विपरित काम गर्ने, जो सुकैलाई पनि दण्डित गरिन्छ । जहाँसम्म दिनेश त्रिपाठीमाथि घटना भएको छ । यो अत्यन्त निन्दनीय काम हो । अत्यन्त गलत काम भएको छ । यस्तो अराजकता गर्ने जो सुकै पार्टीका मानिस भएपनि कारबाही हुन्छ ।’

गृहमन्त्री लेखकले पुनः सर्च कमिटी बनाएर संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई वटै आयोगहरु गठन गर्ने पनि जानरकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर